विकास निर्माणको सिजन सुरु हुन लागेको मौका छोपेर छडको मूल्य ह्वात्तै बढाइयो

Advertisement

काठमाडौं । विकास निर्माणको सिजन सुरु भएलगत्तै बजारमा छडको मूल्य अप्रत्याशित महँगिएको छ । पछिल्लो एक महिनामै छडको मूल्य प्रतिकिलो २० रुपियाँसम्म बढेको व्यवसायीहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ एमएस ब्लेडको मूल्य बढेपछि स्वदेशी बजारमा छडको भाउ बढेको सौरभ समूहका अध्यक्ष विष्णु न्यौपाने बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा ब्लेडको मूल्य प्रतिमेट्रिकटनमा १ सय २० अमेरिकी डलरसम्म बढेको छ ।

Advertisement

‘अन्तर्राष्ट्रिय बजारमै ३६० डलर प्रतिमेट्रिकटन पर्ने ब्लेडको मूल्य बढेर ४८० डलरसम्म पुगेको छ,’ उनले भने, ‘कच्चा पदार्थकै मूल्य ३२ प्रतिशतसम्म बढेपछि डन्डीको मूल्य बढेको हो ।’ सौरभ समूहले लक्ष्मी ब्रान्डमा डन्डी उत्पादन गर्दै आइरहेको छ । उनले थपे, ‘दसैँअघि प्रतिकिलो ६५ रुपैयाँ हाराहारी रहेको लक्ष्मी स्टिल (डन्डी)को भाउ ८० रुपियाँ पुगेको छ ।’ 

तर, फलामजन्य छड, जिआई वायर, तारजालीको मूल्य अप्रत्याशित बढ्नुमा फलामजन्य वस्तु उत्पादक कम्पनीहरूले कार्टेलिङ गरेको नेपाल निर्माण व्यवसायी महासंघको आरोप छ । महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ ‘अहिले डन्डी, पाता, पत्ती, जिआई तार, ग्याबिन तार र नदीजन्य निर्माण सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि गरिएको छ, यसमा उत्पादक कम्पनीहरूको मिलेमतो भएको देखिन्छ ।’

अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य थोरै मात्र बढ्दा पनि अत्यधिक मूल्य वृद्धि गरिनुमा उत्पादक कम्पनीहरूले मनोमानी गरेको स्पष्ट देखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । उनी भन्छन्, ‘नेपालमा वर्षात् सुरु हुनेबित्तिकै मूल्य घटाउने र निर्माण सिजन सुरु हुनेबित्तिकै अभाव देखाएर मूल्य बढाउने विगतदेखिकै चलन हो ।’ 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement