विदेशी प्रकाशनका पुस्तक आयातमा लगाइएको कर खारेजीबारे जवाफ दिन सर्वोच्चले बोलायो

Advertisement

काठमाडौं । विदेशी प्रकाशकका पुस्तक आयातमा लगाइएको १० प्रतिशत कर खारेजीबारे जवाफ दिन सर्वोच्च अदालतले सरकारलाई जवाफसहित उपस्थित हुन सरकारलाई आदेश दिएको छ । 
  
आर्थिक बर्ष २०७६–७७ को बजेट बक्तव्यमार्फत विदेशी प्रकाशनका पुस्तक तथा पत्रपत्रिकाको आयातमा १० प्रतिशत भन्सार महशुल लगाउने गरी गरिएको व्यवस्थालाई मन्त्रिपरिषदको मिति २०७७ साल कात्तिक २४ गतेकोे मन्त्रिपरिषद निर्णयले खारेज गरिएको बिषयमा सर्वोच्च अदालतले सरकारलाई जवाफ सहित छलफलमा उपस्थित हुन आदेश जारी गरेको हो । 

नेपाल मुद्रण उद्योग महासंघका महासचिव एवं अधिवक्ता युवराज श्रेष्ठद्वारा दायर गरिएको रिट निवेदन उपर सुनुवाई गर्दै सर्वोच्चका न्यायधीस प्रकाश ढुड्डानाको एकल इजलासले रिट निवेदकले माग गरेबमोजिम मन्त्रिपरिषदको उक्त निर्णय खारेज गरिनु नपर्ने वा अन्तरिम आदेश जारी गरिनु नपर्ने कारणको जवाफ सहित छलफलमा सहभागी हुन शुक्रबार आदेश दिएको छ । 

Advertisement

बिदेशबाट आयात हुने पुस्तक लगायतका मुद्रित वस्तुमा कर नलाग्ने तर स्वदेशमा मुद्रणका लागि आयात हुने कागज लगायत कच्चापदार्थमा भन्सार महशुल १५ प्रतिशत र भ्याट १३ प्रतिशतगरी २८ प्रतिशत कर लाग्ने ब्यबस्थाले नेपाली मुद्रण उद्योगी तथा ब्यवसायीहरुलाई प्रतिस्पर्धी बन्न नसक्ने अवस्था सिर्जना हुने, सरकारले प्राप्त गर्ने राजश्वमा समेत नोक्सानी हुने तथा सरकारको उक्त निर्णय स्वदेशी उद्योगहरुलाई प्रोत्साहन नगर्ने तथा स्वदेशमानै रोजगार सिर्जना गर्ने सविधानको भावना तथा मर्म बिपरित समेत हुने भन्दै महासंघको तर्फबाट खारेजीको माग गर्दै रिट निवेदन दर्ता गरिएको थियो ।  

उक्त रिट निवेदनउपर वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता मन्दिरा अधिकारीले बहस गरेका थिए । नेपालमा निजी लगानीमा स्थापित मुद्रण उद्योगहरु नेपाल भित्र आवश्यक पर्ने सम्पूर्ण मुद्रित सामग्रीहरु तोकिएको गुणस्तर र समयमा उत्पादन गर्न सक्ने मात्र नभई सरकारले अवसर सिर्जना गरेमा निर्यात समेत गर्न सक्ने अवस्था भएपनि समान भन्सार दर कायम गरी स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउनको सट्टा बिदेशी प्रकाशनलाई प्रोत्साहन हुने गरि निर्णय गरिनुले ब्यवसायीलाई मात्र नभई राज्यलाई नै नोक्सानी हुनेभएकाले उक्त निर्णय खारेजीको बिकल्प नभएको नेपाल मुद्रण उद्योग महासघको दावी रहेको छ । 

Advertisement

Advertisement