गाउँघरसम्म बीमा पुग्यो, पहुँच पनि २०  प्रतिशतले बढाएँः चापागाईं

Advertisement

चिरञ्जीवी चापागाईं

नेपाल सरकार मन्त्रिपरिषदको २०७३ साल पुस १४ गतेको निर्णय अनुसार चार वर्षका लागि मैले नियुक्ती पाएको थिएँ । मैले पुस २४ गते चिठी पाएर कार्यभार सम्हालेको हुँ । मेरो कार्यकाल पुस २३ गतेसम्म हो । म पुस १४ गतेसम्म कार्यालय आउँछु, त्यसपछि विदा बस्छु । यो चार वर्षे कार्यकालमा बीमा क्षेत्रमा केहि गरेँ भन्ने लाग्छ । चार वर्षअघि कार्यभार सम्हाल्दा गरेका अधिकांश प्रतिवद्धताहरु पुरा गर्न सफल भएँ । 

मैले कार्यभार सम्हाल्दा बीमाको दायरा ७ प्रतिशत थियो । त्यसमा वैदेशिक रोजगारीको म्यादी बीमा पनि जोडिएकै थियो । मलाई पत्रकारहरुले त्यतिबेला तपाईले बीमाको दायरा कति पुर्याउनु हुन्छ ? भन्नु भएको थियो । मैले यति उति नभनी धेरै भन्दा धेरै पुर्याउँछु भनेको थिएँ । किन की ७० वर्षमा ७ प्रतिशत पहुँच पुगेको थियो, मैले ८ बनाउँछु भन्न पनि नमिल्ने अनि धेरै बनाउँछु भन्दा पनि के हो के हो  भन्ने लागेको थियो । त्यसकारण कुटनीतिक भाषामा बीमाको दायरा धेरै भन्दा धेरै बनाउँछु भनेको थिएँ । 

आज म सगौरव भन्न सक्ने अवस्थामा आईपुगेको छु की चार वर्षको अवधीमा बीमाको पहुँच ७ प्रतिशतबाट बढाएर २७ प्रतिशत पुर्याउन सफल भएँ । कोरोना अघि १३ लाखको म्यादी बीमा गरिएको थियो । कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका धेरै दाजुभाई नेपाल आउन सक्नु भएको छैन् । उहाँहरुको बीमा नविकरण पनि भएको छैन् । त्यसकारण तत्काललाई बीमाको पहुँच २५ प्रतिशत देखिन्छ । कोरोनाको कहर सकिने वित्तिकै २५ प्रतिशतको पहुँच अझै बढेर जान्छ ।

दोश्रो कुरा भनेको कानुन संसोधनको कुरा पनि हो । मैले बीमा ऐन संसोधन गरौँला भनेको थिएँ । नयाँ ऐन ल्याउँदा भनेको थिएँ । बीमा प्राधिकरण ऐन संसदीय समितिमा पुगेको छ । त्यो ऐन हिउँदे अधिवेशनमै आउँछ भन्ने थियो तर अहिले त संसद नै बिघटन भएको छ । शक्तिशाली बीमा प्राधिकरण ऐन बनाउने मोटामोटी काम पनि मैले आफ्नै नेतृत्वमा गर्न सफल भएँ । 

तेश्रो बीमा एकेडेमी खोल्ने कुरा पनि थियो । बीमाको रणनीतिक योजनामा पनि बीमा एकेडेमी खोल्ने भन्ने रहेछ । हामीले बीमा तालिम केन्द्र खोलिसकेका छौं । सबै बीमा कम्पनी र बीमा समितिको गरि पाँच करोेड चुक्ता पुँजीमा कम्पनी खडा गरेर काम पनि अघि बढाईसकिएको छ । यसले बीमा एकेडेमी र तालिमको दुबै काम गरिरहेको छ । मैले नेतृत्व सम्हाल्दा बीमा प्रति नागरिकको विश्वसनियतै थिएन् । जीवन बीमाका अभिकर्ता भेटियो भने यसले अब बीमा गराउँछ, कसरी उम्किनु भन्ने अवस्था थियो । 

निर्जीवन बीमा तर्फ पनि प्रिमियम मात्रै लिने हुन, अरु केहि दिँदैनन् भन्ने थियो । बैंक तथा वित्तिय संस्थाहरुले पनि कर्जाको बीमा किन गराएका होलान् भन्ने थियो । मेरै केहि साथिहरुले मलाई अध्यक्ष बनेकोमा बधाई दिँदै तेश्रो पक्ष बीमा खारेज गर्न भनेका थिए । बीमा कम्पनीलाई तेश्रो पक्ष बीमाको प्रिमियम किन खुवाएको भन्थे । बीमा समितिलाई पनि कसैले चिन्ने अवस्था थिएन् । म बीमा समितिका अध्यक्ष भन्यो भने बीमा संस्थानको भन्थे । 

पछिल्लो पटक कोरोनाका कारण बीमा प्रतिको विश्वसनियतामा केहि प्रश्न उठ्यो की भन्ने छ । तर पनि हामी सबैको भुक्तानी दिन्छौं । २७ हजार दावीमध्ये १४ हजार भन्दा बढीको भुक्तानी भैसकेको छ । अर्थात यतिबेला बीमा क्षेत्रको विश्वसनियता वृद्धि भएको छ । अरुको पनि क्रमशः भुक्तानी दिँदै जान्छौं । यी आँकडाहरु हेर्दा मात्रै पनि मेरो कार्यकालमा बीमा क्षेत्रमा राम्रो भएको छ भन्न सकिन्छ । 

म आउँदा बीमा क्षेत्रमा २ हजार रोजगार थिए, अहिले १० हजार पुगेका छन् । एक लाख ५० हजार अभिकर्ता थिए, अहिले पाँच लाख ५० हजार भन्दा बढी पुगेका छन् । बीमा क्षेत्र ठूलो भएको छ । नयाँ नयाँ कम्पनी आएका छन्, गाउँघरमा बीमा पुगेको छ । बीमा क्षेत्रको थप विश्वसनियता बढाउन र सुशासन कायम गराउन आर्थिक पत्रकारहरुको ठूलो भूमिका रहन्छ । मैले मेरो कार्यकालमा बीमा समिति र आर्थिक पत्रकारहरुको सम्बन्ध राम्रो बनाउन र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि केहि प्रयासहरु गरेँ । 

त्यस बाहेक केहि काम अधुरै छाड्नु परेको महशुस गरेको छु । जस्तो की अनलाईनबाटै सबै तथ्यांक संकलन र स्टोर गर्न मिल्ने गरि प्रविधि जडानको काम अघि बढेको थियो । कोरोना नआएको भए मेरै कार्यकालमा डिजिटल प्रविधि जडान हुने थियो । त्यो रोकिएको छ तर यसै वर्ष नयाँ प्रविधि जडान हुनेछ । 

कोरोनाका कारण बीमा क्षेत्रमा परेको प्रभावको अध्ययन प्रतिवेदन तयार भएर प्रेसमा पठाएका छौं । केहि समयमै आउँछ । बीमा प्राधिकरण ऐन ल्याउने काम सम्पन्न गर्न सकिँन् । त्यस्तै, बीमा समितिको क्षमता अभिवृद्धि र रि इञ्जिनियरिङ गर्न बाँकी नै रह्यो । यद्यपी त्यसका फाउण्डेशन तयार भैसकेका छन् । अब कर्मचारीको क्षमता अभिवृद्धि गराउनुपर्नेछ । यो नियमित प्रक्रिया हो, यस्तो काम अमेरिका र युरोपका नियामकहरुले पनि नियमित रुपमा गरिरहेकै हुन्छन् । म आफ्नो चार वर्षे कार्यकालबाट म सन्तुष्ठ छु । (नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को नव निर्वाचित कार्य समितिलाई बधाई दिन आयोजीत कार्यक्रममा बीमा समिति अध्यक्ष चापागाईँले व्यक्त गरेको विचारको सम्पादित अंश) 
 

Advertisement

Advertisement

Advertisement