भेट्न आएको महासंघको टोलीलाई राष्ट्रपतिको सुझावः परनिर्भरतालाई ब्रेक गर्न उत्पादन बढाउनुहोला

Advertisement

काठमाडौं । सरकार र दलका उच्च नेतृत्वलाई भेट्दै आएका नेपाल उद्योग बाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारी आइतबार राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगे । 

भेटमा राष्ट्रपति भण्डारीले हर कुरामा बाह्य देशसँग निर्भरता बढ्दै गएको भन्दै त्यसलाई ब्रेक गर्न महासंघका अगुवाहरुलाई सल्लाह दिइन् । महासंघका पदाधिकारीको कुरा सुनेपछि उनले महासंघको वर्तमान युवा नेतृत्वलाई उद्योग व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न पनि सुझाव दिइन् । 

Advertisement

पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं भन्दै भण्डारीले ‘प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ’ भनिन् । 

उनले थपिन, ‘रोजगारीका लागि वाध्य भएर वाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाईंहरू गम्भीर भएर लाग्नुहोस ।’ चुलिदो व्यापार घाटाप्रति उनले चिन्ता प्रकट गरिन् । राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक वस्तु आफै उत्पादन गर्न सकिने भन्दै त्यसमा सिंगो मुलुक नै गम्भीर हुन जरूरी रहेको बताइन् ।

स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमा मात्र वाह्य लगानी समेत आकर्षित हुने हुँदा कृषि, उर्जा, पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्य गर्नुपर्ने उनको भनाई थियो । 

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन शितल निवास पुगेका थिए । आफूहरु समुन्नत मुलुक निर्माणका लागि विशेष लक्ष्यसहितको भिजन पेपर निर्माणको तयारीमा लागेको उनीहरुले बताएका थिए । 

महासंघका अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट वाहिर ल्याउन सवैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक रहेको बताए । साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वतः चल्नसक्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको बताए । 

गोल्छाले महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने बताए । लाखौ यूवाहरू वेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक चार लाख युवाका लागि रोजगारी सिर्जना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्दै गोल्छाले महासंघले विज्ञहरू समेतको सहयोगमा आम सरोकारवाला पक्षहरूसँग छलफल गरी उक्त पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको बताए । 

उनले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने प्रक्षेपण भइरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप विग्रन नदिन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको बताए । भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, उर्जा लगायतका क्षेत्रसंग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकास मार्फत आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडी बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्व लगायतका विषयमा जोड दिनु भयो । 

Advertisement

Advertisement