बैंकको ‘माइक्रो म्यानेजमेन्ट’ गर्नु छैन, मर्जर-एक्विजिशनमा साहुजीहरुले भूमिका खेल्नुस्ः गभर्नर

महाप्रसाद अधिकारी,

काठमाडौं । अहिले देशको आर्थिक परिसूचकहरु सुधारोन्मुख हुँदैछन् । मुद्रास्फिति ४.३३ प्रतिशत छ, बाह्य क्षेत्र उत्साह जनक छ । करेन्ट एकाउण्ट पनि बचतमा छ । वैदेशिक सञ्चिति पनि राम्रो छ । निक्षेप र कर्जा पनि बढिरहेको छ ।  हालसम्म बाणिज्य बैंकहरुले ४२ खर्ब भन्दा बढी निक्षेप व्यवस्थापन गरेका छन् । ३२ खर्ब भन्दा माथिको कर्जाको व्यवस्थापन भएको छ । 

हाम्रो जिम्मेवारी सर्वसाधारणको यत्रो बजेट र कर्जाको व्यवस्थापन हो । यो सहज छैन्, चुनौतीपूर्ण छ । यद्यपी उचित व्यवस्थापनका लागि २७ बाणिज्य बैंकलाई धन्यवाद । बैंकिङ सिस्टमलाई सहज बनाउनेलाई प्रयासलाई पनि धन्यवाद भन्न चाहान्छु । बैंकहरुले राष्ट्रिय उत्पादन बढाउन भूमिका खेल्ने र  निक्षेपकर्ताको हितमा पनि काम गरिरहनु भएको छ । 
वित्तिय संस्था परिसंघ अध्यक्षले माइक्रोमेनेजेन्टको कुरा राख्नु भयो । कोभिडले विश्व आक्रान्त हुँदा, नेपाल त्रसित हुँदा हामीले लिएको नीतिमा कुनै परिवर्तन भएको छैन् । 

हामी पोलिसीगत रुपमा ठिक ठाउँमा छौं । थलिएको अर्थतन्त्रलाई चलायमान बनाउने, निरास भएका उद्योगीलाई उठाउन सकौं भन्ने अभिप्रायले नीति अघि सारेका थियौं । त्यो पोलिसी आज पनि निरन्तर छ । पहिलो त्रैमासिकको समिक्षा गर्दा बजारका बिकृति सम्बोधन मात्रै गरेका हौं । त्यसलाई नीति परिवर्तन गरेको भन्न मिल्दैन् । हामी नीति स्थिर छ, उपकरणहरुको प्रयोग आवश्यकता अनुसार तलमाथी गरिन्छ । तर नीति परिवर्तन गरिएको छैन् । हामीलाई बैंकको माइक्रो मेनेजमेन्ट गर्नु छैन् । 

नेपाल राष्ट बैंकले लिएको अर्काे नितीगत कुरा भनेको कल्सोलिडेशन हो । धेरै संस्थाहरु मर्ज तथा एक्विजिसनको नतिजा राम्रो देखेका छौं । अहिले पनि कतिपय बैंक तथा वित्तिय संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाने तयारी गरिरहेका छन् । छलफलहरु अघि बढाईरहेका छन् । हामीले  त्यसलाई सहजीकरण गरिरहेका छौं । मर्जर/एक्विजिशनमा साहुजीहरुको संस्थाले भूमिका खेलोस् । 

संसारभरी कोरोनाले असर गरेको छ । विकसित मुलुकहरुको रिकभरीमा राम्रो प्रगति गरिरहेका छन् । संक्रमण र रिकभरीसँगै अघि बढिरहेको छ । हाम्रो पनि केहि क्षेत्रमा बाहेक रिकभरी राम्रै हुनेछ । पछिल्लो राजनीतिक घट्नाले केहि असर गर्छ । तर बैंकिङ क्षेत्रमा केहि फरक ढंगले काम गर्नुपर्छ । हामीले यतिबेला भुक्तानी प्रणालीलाई बिशेष जोड दिएका छौं । त्यसमा ठोस परिवर्तन खोजीरहेका छौं । परम्परागत भुक्तानी प्रणालीबाट आधुनिक प्रणालीमा जानुपर्छ भन्ने छ । हामी पूर्वाधार बनाउन लागिपरेका छौं, एनबीएले पनि त्यसमा भूमिका खेलोस । बनेका पूर्वाधारहरुको पूर्ण उपयोग गरौं, आधुनिक भुक्तानी प्रणालीको प्रयोग गरौं । नेशनल स्वीच बनाउन पनि भूमिका खेलौं । 

गत हप्ता तरकारी बजारमा क्युआर कोड मार्फत भुक्तानी आरम्भ गरेका छौं । नक्सालबाट सुरु भएको छ, तरकारी बजारबाट अन्य स साना व्यवसायमा क्युआर कोड आउँछ भन्ने अपेक्षा छ । क्युआरको  बिशेषता अझै राम्रो रहेछ, भिसा र मास्टर कार्ड प्रयोग गर्दा केहि शुल्क बाहिर बुझाउनुपर्छ । क्युआरमा पैसा पनि विदेश नजाने रहेछ । यहिबाट सर्भिस दिन सकिने रहेछ, विदेश पैसा पनि नजाने रहेछ । यसको सदुपयोगमा बैंकहरु लाग्नु परो । कम्तिमा एक एक वटा तरकारी बजारमा उपयोग गर्नुस् । अन्तरआवद्धता पनि जोड दिनुस्, एउटा बैंकमा खाता खोलेपछि हुने बनाउनुस् । एक वर्षभित्र नगद बोकेर तरकारी किन्न जानु नपरोस भन्ने मेरो योजना छ । यसले कोरोना संक्रमणबाट पनि जोगाउने रहेछ । 

सहुलियत पूर्ण कर्जा, व्यवसायीक निरन्तरता कर्जा, पुनकर्जा उपयोग गर्नुस । हामी तिनवटै कर्जाको मूल्यांकन चैतमा गर्दछौं । राज्यका कार्यक्रमहरुको कार्यान्वयनमा कति भूमिका खेल्नु भयो, हामी हेर्छाै । कुन बैंकले कति सहयोग गर्यो हामी हेर्छाै । थप सक्रियतासहित कार्यान्वयनमा लाग्नुस् ।(नेपाल बैंकर्स संघको साधारण सभामा गभर्नर अधिकारीले व्यक्त गरेको विचारको सम्पादित अंश)