के कर्जाको गुणस्तर खस्किएकै हो ? के भन्छ राष्ट्र बैंक ?

Advertisement

काठमाडौं । ‘गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यो वर्षको सोही अवधिमा झन्दै २० प्रतिशत बढि कर्जा प्रवाह हुनुले पनि यसको संकेत गर्दछ । यो सकारात्मक परिस्थिति निर्माणका लागि सरकार तथा नेपाल राष्ट्र बैंकप्रति हामी सबै अनुगृहित हुनु पर्दछ’, कर्जाको माग बढेको बारे बैंकर्स एशोसियशनका अध्यक्ष भुवन दाहालको भनाई हो यो ।

तर, उनैले कर्जाको गुणस्तरबारे भने सचेत हुनुपर्ने समय आईसकेको सन्देश पनि दिएका छन् । दाहाल भन्छन्, ‘हाल बजारमा कायम अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौती थपेको छ । यो विषयलाई सम्बोधन गर्न हामी प्रयासरत छौं । यस सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट थप सहयोगको अपेक्षा गरेका छौं ।’ 

Advertisement

उनले कोरोनाका कारण कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण गरिएकाले निष्क्रिय कर्जाको अवस्थामा पनि फेरबदल आउनसक्नेतर्फ पनि संकेत गरे । दाहाल भन्छन्, ‘पुस मसान्तमा बैंकहरुको पुनःसंरचना तथा पुनःतालिकीकरण गरेको कर्जालगायत निष्क्रिय कर्जाको यथार्थ तस्वीर आउने नै छ ।’ अर्थात कर्जाको गुणस्तरमा स्वयं बैंकरहरुले विश्वस्त छैनन् । 

गभर्नरको लाइन
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि अधिक तरलता छोडेर व्याजदर घटाउने योजना अनुसार केन्द्रिय बैंकले काम गरिरहेको बताउँदै आएका छन् । 
केही दिनअघि सार्वजनिक कार्यक्रममा बोल्दै उनले भनेको थिए, ‘ बजारमा अधिक तरलता राखेरै काम गरिरहेका छौं । किनभने बैंक तथा वित्तिय संस्थाको लागत बढेको कुरा आएको थियो । हामीले उद्यमी व्यवसायीहरुलाई सहज रुपमा आवश्यक कर्जा पुग्न सकोस भनेर अधिक तरलतामा काम गर्ने नीति लिएका हौं ।’

अधिकारीले न्यून ब्याजदरमा अधिक कर्जा प्रवाह गराउँदै ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने बाटोमा आफू अघि बढेको पनि बताएका थिए । त्यस्तै, कल बाहेकका अन्य निक्षेपहरुको न्यूनतम र अधिकतम ब्याजदरको अन्तर पाँच प्रतिशतको सीमा तोक्नुका पछाडी पनि सोही उद्देश्य रहेको पनि उनले बताउँदै आएका छन् । नेपाल बैंकसं संघले तयार पारेको तथ्यांक अनुसार पुस ३ गतेदेखि १० गतेको अवधीमा जम्मा १२ अर्ब रुपियाँले निक्षेप बढेको छ तर कर्जा भने १७ अर्ब रुपियाँले बढेको छ । 

पुस ३ गते बाणिज्य बैंकहरुको कुल निक्षेप ३७ खर्ब १७ अर्ब रुपियाँ थियो । पस १० गते त्यस्तो निक्षेप १२ अर्बले बढेर ३७ खर्ब २९ अर्ब पुग्यो । तर, पुस ३ गते ३१ खर्ब १२ अर्ब रुपियाँ रहेको कर्जा भने १७ अर्बले बढेर १० गते ३१ खर्ब ४० अर्ब पुगेको थियो । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार हालसम्म राष्ट्र बैंकले पटक पटक गरि १७१ अर्ब तरलता खिचेको छ । सोमध्ये केहि रकम परिपक्क भएर बजारमा फिर्ता भैसकेका छन् । ९० अर्ब रुपैयाँ भने राष्ट्र बैंकले अहिले पनि बजारबाट खिचेकै छ । पुस १४ गते बैंकिङ प्रणालीमा १२० अर्ब रुपैयाँ तरलता छ । यदि राष्ट्र बैंकले तरलता प्रशोचन नगरेको भए सो दिन २१० अर्ब तरलता बजारमा रहन्थ्यो । 

कर्जाको गुणस्तर ?
नेपाल राष्ट्र बैंकले सुपरभिजन विभाग मार्फत कर्जाको सुक्ष्म निगरानी गरिरहेको हुन्छ । ‘हामीले कर्जाको निरन्तर सुभरभिजन गरिरहेका हुन्छौं, कर्जाको माग केमा छ ? कुन क्षेत्रमा धेरै गैरहेको छ ? त्यसको सहि उपयोग भैरहेको छ की छैन् ? लगायतका विषयमा राष्ट्र बैंक सधै चनाखो रहन्छ ।’, प्रवक्ता डा. भट्टले भने । 

 कति गयो कर्जा ? कति आयो निक्षेप ? 
प्रवक्ता डा. भट्टका अनुसार असार मसान्तदेखि पुस १४ गतेसम्मको अप्रशोधित तथ्यांकमा २८६ अर्ब कर्जा प्रवाह भएको छ । त्यस्तै, निक्षेप भने २९१ अर्ब रुपैयाँ संकलन भएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप ७.४ प्रतिशतले बढेको छ । त्यस्तै, कर्जा भने कर्जा ८.८ प्रतिशत बढेको देखिन्छ । 

Advertisement

Advertisement