इतिहासकै ठूलो ८ अर्बको आइपीओ, कति भर्ने ? कति पर्छ ?

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आइपीओ जारी गर्दैछ । बैंकको आइपीओलाई मंसिर ३ गतेको दोश्रो साधारण सभाले पास गर्दै राष्ट्र बैंकको स्वीकृति र नेपाल धितोपत्र बोर्डको अनुमति पनि मिलिसकेको छ ।  नेपालको सार्वजनिक निष्काशन इतिहासमा यो सबै भन्दा ठूलो आइपीओ हो । ८ अर्बको आइपीओ निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ । 

नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्न भन्दै सरकारको अगुवाई र निजी क्षेत्रको सहभागीतामा यो बैंकको स्थापना भएको हो । भर्खर आफ्नो दुई वर्षे कार्यकाल पुरा गरेर संस्थापक सिइओ अनिल ज्ञवाली विदा भएका छन् । डेपुटी सिइओ भुपेन्द्र पाण्डेले निमित्त सिइओको जिम्मेवारी सम्हालिरहेका छन् । केहि दिनभित्रै आइपीओ निष्काशन गर्न लागेको बैंकले बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ । 

कति भर्ने ? कति पर्छ ?
बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्छ । एक सय रुपैयाँ मूल्य अंकित ८ करोड कित्ता सेयर निष्काशन हुने भएपछि आवेदन गर्ने सबैलाई पर्ने कुरा निश्चित छ । धितोपत्र निष्काशन सम्बन्धी विद्यमान व्यवस्थाले पुगेसम्म सबै आवेदकलाई १० कित्ता सेयर दिनुपर्छ । माग भन्दा बढी आवेदकले आवेदन गरेको अवस्थामा पनि गोलाप्रथाद्धारा नै १०।१० कित्ता बाडफाँट गर्नु पर्छ । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओका हकमा भने सबै आवेदकले १० कित्ता भन्दा बढी सेयर पाउनेछन् । पछिल्लो पटक निष्काशन गरेको प्रभु लाइफको आइपीओमा सर्वाधिक १० लाख ८२ हजार २ सय २९ वटा आवेदन परेको थियो । सो मात्राको आवेदनबाट जम्मा २ करोड ९३ लाख ६७ हजार २ सय ४० कित्ताका लागि आवेदन परेको थियो । अर्थात जम्मा २ अर्ब ९३ करोड ६७ लाख २४ हजार रुपैयाँको आवेदन परेको थियो । इन्फ्रास्ट्रक्चरको निष्काशन नै ८ अर्बको छ । 

११ लाख आवेदन परेको अवस्थामा पनि प्रत्येक आवेदकले ७० कित्ता भन्दा बढी सेयर पाउनेछन् । पछिल्लो समय १० कित्ता आवेदन गर्ने लहर चलेको छ । तर यो आइपीओमा भने १०० कित्ता आवेदन गर्दा उपयुक्त हुने बताइन्छ । अर्थात यो आइपीओ सबै आवेदकलाई कम्तिमा पनि ७० कित्ता पर्न सक्ने देखिन्छ । हाल नेपालमा २३ लाख डिम्याट खाता छन् । तिमध्ये प्राथमिक सेयर निष्काशनमा भने १० लाख ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् । 
 

Advertisement

Advertisement

Advertisement