बोतलको पानी बेचेर एसियाकै धनीः मुकेश अम्बानीलाई पछि पार्ने जुङ साङसाङ

Advertisement

काठमाडौं । चीनका जुङ साङसाङ बोतलको  पानी बेचेर एसियाकै सबै भन्दा धनी व्यक्ति बनेका छन् । उनले भारतका मुकेश अम्बानीलाई समेत पछि पार्दै एसियाको धनीमा आफ्नो नाम लेखाएका हुन् । ब्लुमबर्ग बिलेनियर्स इण्डेक्स अनुसार २०२० मा जुङ साङसाङको सम्पति ७ अर्ब डलरले वृद्धि भएको छ । 

साङसाङले भारतका मुकेश अम्बानी र आफ्नै देशका ज्याक मालाई पनि पछि पारेका हुन् । साङसाङको भ्याक्सिन बनाउने कम्पनी र बोतलको पानी बेच्ने कम्पनीका कारण उनको सम्पति ७७.८ अर्ब डलर पुगेको छ र उनी संसारका ११ औं धनी व्यक्त बन्न सफल भएका छन् । जुङले पत्रकारिता, च्याउ खेति र हेल्थकेयर क्षेत्रमा पनि आफ्नो भविष्य लेखिसकेका छन् । 

जुङले सन २०२० को अप्रिलमा भ्याक्सिन बनाउने कम्पनी बेइजिङ वान्टाई बायोलोजिकलाई सेयर बजारमा सूचिकृत भएको थियो । तीन महिनाकै अवधीमा जुङले पानी कम्पनी नाङगफुङ स्प्रिङलाई पनि हङकङको सेयर बजारमा सूचिकृत गराएका थिए । यहि निर्णयका आधारमा उनलाई अलिबाबा संस्थापक ज्याक मा भन्दा धनी बनाएको थियो । त्यस अघिसम्म ज्याक मा नै चीन र एसियाकै सबै भन्दा धनी व्यक्ति थिए । 

सेयर बजारमा सूचिकृत भएपछि पानी कम्पनी सेयर बजारमा सबै भन्दा धेरै नाफा कमाउने कम्पनी बनेको छ । यसको सेयर मूल्य १५५ प्रतिशतको उछाल आएको छ । बेइजिङ वान्टाई बायोलोजिकलको सेयर झन २००० प्रतिशतले बढेको छ । यो कम्पनी चीनमा कोरोना भ्याक्सिन बनाउने मध्येको एक हो ।  ब्लुमबर्गका अनुसार उनले तिब्र रफ्तारमा सम्पति बढाउनेहरुको सूचिमा आफुलाई स्थापित गरेका छन् । 

भारतमा मुकेश अम्बानीको सम्पति पनि कोरोना कालमा १८.९ अर्ब डलरले वृद्धि भएको छ । अब उनको कुल सम्पति ७६.९ अर्ब डलर पुगेको छ । फेसबुकले यस वर्ष मुकेशको  रिलायन्स जियोमा ५.७ अरब डलर लगानी गर्ने बताएको थियो । ज्याक माको सम्पति भने यसपाली घटेको छ । अक्टोबरमा ६१.७ अर्ब डलर रहेको उनको सम्पति अहिले घटेर ५१.२ अर्बमा झरेको छ । उनको कम्पनि अलिबाबा माथि चिनियाँ सरकारी निकायहरुले कडा निगरानी बढाएपछि ओरालो लागेको हो । 

अलिबाबा माथि बजारमा एकाधिकार जमाउने प्रयास गरेको आरोपमा अनुसन्धान भैरहेको छ । जबकी यसको सहायक कम्पनी एन्ट ग्रुपलाई सेयर बजारमा सूचिकृत हुनबाट रोकिएको थियो । चीनका अधिकतम अरबपति टेक कम्पनीसँग जोडिएका छन् । ख्वावे, टिकटक र वी च्याटलाई लिएर चिन तथा अमेरिकाबीच तनाब कायम छ । जसका कारण चिनियाँ टेक कम्पनीहरुको सेयर मूल्य घटिरहेको छ । 

Advertisement

Advertisement

Advertisement