पुस १३ र १४ मा प्राविधिक कारण केहीबेर विद्युत कटौती भएको हो, लोडसेडिङ होइन्ः उर्जा मन्त्रालय

Advertisement

काठमाडौं । उर्जा मन्त्रालयले मुलुकमा लोडसेडिङ गर्नुपर्ने बाध्यता नरहेको भन्दै विद्युत प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित बिजुलीबाट अपुग बिजुली भारतबाट आपूर्ति गरी माग पूर्ति गर्ने काम भइरहेको दावी गरेको छ । 

अघोषित लोडसेडिङ सुरु भएको भन्दै आलोचना हुन लागेपछि मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी पुस १३ र १४ गते केही समय भएको विद्युत कटौती प्राविधिक कारण हुन गएको बताएको छ । 

Advertisement

पत्रकार सम्मेलनमा उर्जासचिव दिनेश घिमिरे र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बोलेका थिए । उनीहरुले माग अनुसार नै विद्युत आपूर्ति भइरहेकोले लोडसेडिङ गर्नुपर्ने जरुरी नरहेको भन्दै भविश्यमा पनि नहुने बताए । 

नेपाल विद्युत प्राधिकरणको प्रेस विज्ञप्तिः 

केही दिन यता विभिन्न मिडिया तथा अनलाइन पत्रिकाहरूमा बत्ती झ्याप्प झ्याप्प गइरहेको वा अघोषित लोडसेडिंग शुरू भएको, विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भनी प्रकाशित समाचारले नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानकर्षण भएको छ। यस सन्दर्भमा, नेविप्राले विगत ३ वर्षअघि देखि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र देहायको अवस्थामा छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुन गएको व्योहोरा आम विद्युत उपभोक्ता, मिडियाकर्मी, पत्रकार र सम्बन्धित सबैमा जानकारीका लागी अनुरोध छः

१. विद्युतका उपभोक्ताहरूको मागभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता रहन्छ। हाल नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरीक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गरिने अवस्था छैन । राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ हैन । तथापी त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ र सदैव प्रयासरत छ।

२. विभिन्न कारणले विद्युतका पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्ने जस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै संचालन र विद्युत प्रवाह भइरहेका संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत संभार गरी विद्युत आपूर्ति सूचारु गर्ने गरिएको छ ।

३. २०७७ पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोध सो प्रणालीमा आएको प्राविधिक समस्याले हो।

२०७७ पुस १३ गते सोमबार एकीकृत राष्ट्रिय विद्युत प्रणालीमा साँझ ६ः२५ बजे १४३१ मेगावाटको लोड थियो । सो समयमा खिम्ती–लामोसाँगु १३२ केभि प्रसारणलाइन पूर्ण क्षमतामा संचालित भएको, खिम्ती–लामोसाँगु–भक्तपूर–मातातीर्थ–हेटौंडा–ढल्केबर प्रसारण लाइन एउटै ‘लुप’मा संचालित भएकोमा, सोही समयमा माङ्दी जलविद्युत केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतममा पुगेपछि प्रणालीमा यथावत सूचारू राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयात गर्ने विद्युतको मात्रा बढी हुन गयो र सोही समयमा खिम्ती–लामोसाँगु प्रसारण लाइन ओभरलोड हुनगई पिकिङ ट्रिप हुन गयो । सो समस्याको निराकरणको लागी दिउँसोको समयमा भारतबाट आयात बढाई, अर्धजलाशय जलविद्युत केन्द्रहरूको रिर्जभवायर बढाएर राख्ने र साँझको पिक आवरमा त्यहाँबाट सप्लाई व्यवस्थापन गर्ने साथै, तुलनात्मक कमजोर प्रसारण लाइनहरूमा विशेष ध्यान पुर्याइ संचालनमा ल्याउने गरिएको छ। पुस १४ गते बानेश्वर ६६ केभी सबस्टेशनमा लोड बढ्दै गएको, त्यहाँ बिद्युत आपूर्ति गर्ने पाटन–बानेश्वर प्रसारणलाइन खण्ड साँझ ६ः०५ बजे ओभरलोडमा खिम्ती–लामोसाँगु लाइन पनि ट्रिप भएको । परिणामस्वरुप पाटन, बानेश्वर, भक्तपुर, चाबहिल, बनेपा क्षेत्रमा समेत केहीबेर (करिव ७ मिनेट) बिद्युत अवरुद्ध हुन पुगेको । लो लाइन रिसेट गरी जोड्दा पुनः ट्रिप भएको, तत्कालै बिद्युत लोड गरी व्यवस्थापन गरिएको । 

सो समस्या निराकरणका लागि बानेश्वर सबस्टेशनको केही लोड के–३ सबस्टेशन र पाटन सबस्टेशनतिर स्थानान्तरण गरिसकिएको छ । 

विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमणको महामारीको समयमा पनि बिद्युतका समस्त उपभोक्ता वर्गमा गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन नेविप्राका कर्मचारीहरु अहोरात्र खटिई सेवारत रहेको हुँदा कुनै पनि प्रकारको लोडसेडिङ नहुने व्यहोरा समेत आश्वस्त तुल्याउँछौं । 

Advertisement

Advertisement