यस बर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हुन्छः सरकार, जम्मा ०.६ प्रतिशत मात्रै हुन्छः बिश्व बैंक

Advertisement

काठमाडौं । सरकारले चालु आर्थिक बर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत हुने दाबी गरिरहेको बेला बिश्व बैंकले भने ०.६ प्रतिशत मात्रै रहने दोहोर्याएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट प्रभावित यस आर्थिक बर्ष सन् २०२०–२०२१ (२०७७–७८)मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने बैंकको अनुमान छ । बिश्व बैंकको संशोधित प्रक्षेपणमा नेपाल सरकारले दाबी गरेजस्तो आर्थिक नहुने दाबी गरे पनि ऋणात्मक भने नहुने औंल्याइएको छ । 

बिश्व बैंकले मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट २०२१ मा नेपालको आर्थिक वृद्धिदर गएको आर्थिक बर्ष (२०७६–७७)मा ०.२ रहने र चालु आर्थिक बर्षमा केही सुधार आउने अनुमान गरिएको छ । कोरोना भाइरस र त्यसलाई नियन्त्रण गर्ने क्रममा लकडाउन लागू परेपछि मुलुकको समग्र अर्थतन्त्र, उद्योग व्यवसायमा नराम्रो असर परेको छ । 

Advertisement

विश्व बैंकका अनुसार यस बर्ष दक्षिण एसियामा कोरोनाको सबैभन्दा धेरै प्रभाव भारतमा पर्ने अनुमान गरेको छ । समग्रमा दक्षिण एसियाको आर्थिक वृद्धि ६.५ प्रतिशतले बढ्ने अनुमान गरेको विश्व बैंकले भारतको आर्थिक वृद्धिदर भने ९.६ प्रतिशतले नकारात्मक रहने अनुमान गरेको छ । त्यस्तै, बंगलादेशको वृद्धिदर ०.७ प्रतिशतले नकारात्मक रहने अनुमान छ । बाँकी देशको भने सकारात्मक रहने अनुमान छ । कोरोना कहरकै बीच पनि दक्षिण एसियाकै माल्दिभ्सको आर्थिक वृद्धिदर ९.५ प्रतिशत हुने बिश्व बैंकको प्रक्षेपण छ । 

त्यसैगरी, बिश्व बैंकले सन् २०२१ मा विश्व अर्थतन्त्रमा ४ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान गरेको छ । गएको बर्ष ४.३ प्रतिशतले खुम्चिएको बिश्व अर्थतन्त्रमा यो बर्ष सुधार आउने आशा गरिएको हो । बिश्वकै ठूलो मानिएको अमेरिकी अर्थतन्त्रमा गएको बर्ष ५.४ प्रतिशतले संकुचन आएकोमा यो बर्ष ३.३ प्रतिशतले सुधार आउने आशा गरिएको छ । 

छिमेकी अर्थतन्त्र चीनमा यो बर्ष पनि आर्थिक वृद्धिदर सकारात्मक रहने प्रक्षेपण छ । बिश्वको पहिलो अर्थतन्त्र बन्ने दौडमा रहेको चीनमा सन् २०२१ मा ७.९ प्रतिशतको आर्थिक वृद्धि हुने, गएको बर्ष ३.६ प्रतिशतले खुम्चिएको युरोपेली अर्थतन्त्र यो बर्ष ३.५ प्रतिशतले सुधार आउने अनुमान छ । 

Advertisement

Advertisement