अराजकता मच्चाएपछि ट्रम्पको फेसबुक र ट्वीटर रोक्का, ट्रम्पले समर्थकलाई भने–‘आइ लभ यू’

Advertisement

काठमाडौं । आफ्ना समर्थकहरुलाई परिचालित गर्दै संसदमा अराजकता मच्चाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्वीटर खाता बन्द गरिएको छ । फेसबुक र ट्वीटरले नै ट्रम्पलाई खाता सञ्चालन गर्न रोकेको हो ।  

ट्रम्पका समर्थकहरु अराजक प्रदर्शनमा अहिलेसम्म चार जनाको ज्यान गइसकेको छ । संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्रम्पले ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ।

Advertisement

आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ‘आइ लभ यू’ लेखेका थिए। फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाएको छ।

यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए।

अमेरिकी संसद्‌मा भएको घटनाको विश्वभरिका नेताहरूले निन्दा गरिरहेका छन् । युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन्।

आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले उक्त घटनालाई पदमा रहेका राष्ट्रपति र उनका समर्थकद्वारा जानीबुझीकनै गरिएको लोकतन्त्रमाथिको हमला भनेका छन्।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक दृश्य भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन्। नेटोका महासचिवले घटना स्तब्ध पार्ने खालको भनेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियाको सम्मान हुनुपर्ने बताएका छन् भने फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोले उक्त हमलालाई अनमेरिकन अर्थात् अमेरिकी चरित्रसँग अमिल्दो बताएका छन्।

त्यस्तै, अमेरिकी पूर्वराष्ट्रपतिहरुले पनि घटनाको निन्दा गरेका छन्  । पूर्वराष्ट्रपति बराक ओबामाले इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन् भनेका छन् । 

पूर्वराष्ट्रपति विल क्लिन्टनले जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला जसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको छभनेका छन् । 

त्यस्तै,  जर्ज डब्ल्यु बुसले चुनावी नतिजाको यस्तो विवाद बनाना रिपब्लिक (अस्थिर राजनीतिक व्यवस्था)मा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन... यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो भनेका छन्  ।

Advertisement

Advertisement