स्पोर्टस अवार्डलाई रुस्लान फुटबलको प्रायोजन, अवार्ड वितरण पुस २८ मा

Advertisement

काठमाडौं । १७ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डलाई रुस्लान फुटबलले प्रायोजन गरेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहिबार हस्ताक्षर भएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र इन्डष्ट्रिजका कार्यकारी निर्देशक ससिन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार स्पोर्टस अवार्डमा रुस्लान फुटबल सह–प्रयोजकको रुपमा रहनेछ ।

Advertisement

कार्यकारी निर्देशक जोशीले गाह्रो अवस्थामा समेत प्रायोजनलाई निरन्तरता दिएको उल्लेख गर्दै अवार्डको सफलताको शुभकामना दिए । स्पोर्टस अवार्डसँग रुस्लानको यो पाँचौ वर्ष हो । यो अवार्ड कार्यक्रम आगामी पुस २८ गते आयोजना हुँदैछ । 

मञ्चले यसअघि नै पिपल्स च्वाइस विधा र वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइस विधामा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनित छन् ।

वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । महिलातर्फ कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा छन् ।

वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

अवार्डका अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिदैछ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपियाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । 

Advertisement

Advertisement