कोभिडले हाम्रो अर्थतन्त्र खल्बल्यायो, पहिलेकै अवस्थामा ल्याउन निकै मेहनत जरुरी छः गोल्छा

Advertisement

कोभिडले हाम्रो अर्थतन्त्र खल्वल्याएको छ । कोभिडको कारण गत आर्थिक वर्षमात्रै जीडीपीमा १ खर्व, ९८ अर्व क्षति भएको तथ्यांक आएको छ । १५ लाख, ६७ हजारले रोजगारी गुमाएका । नेपालमा कोभिडले १२ लाख नागरिक गरिवीको रेखामुनी पुगेका  र विश्वमा कोभिडका कारण १ अर्व भन्दा बढी मानिस गरिवीको चपेटामा पर्ने अनुमान सार्वजनिक भएको छ । केही दिन अघिमात्र विश्व बैंकलेले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ५ महिना भन्दा बढी ठप्प हुंदा पर्यटन क्षेत्र नराम्ररी प्रभावित छ । आगामी वर्ष अर्थात २०२२ मा २.२५ हुने अनुमान पनि आएको छ । 

यो अवस्थामा हाम्रा उद्योगधन्दालाई पूर्वावस्थामा ल्याउन हामीले निकै मेहनत गर्नुपर्ने छ । महासंघले प्रतिवर्ष ४ लाख रोजगारी सृजना गर्ने, दोहोरो आर्थिक वृद्धि र आयात प्रतिस्थापन निर्यात वृद्धिको लक्ष्य राखेर भिजन पेपर तयारी गरिरहेको छ । सुझावका लागि महासंघले पत्राचार गरिसकेको छ । यसमा तपाईहरुले तथ्य र तथ्यांकमा आधारित कार्यान्वयनमा लैजाने खालका सुझावहरु पठाउनु हुन अनुरोध छ ।

Advertisement

महासंघले विगतमा नेपाल सरकार कृषि मन्त्रालयको सहयोगमा भक्तपुर लगायत अधिकांश जिल्लाहरुमा वन भिलेज वन प्रडक्ट र वन डिस्ट्रिक वन प्रडक्ट  कार्यक्रम लागू गरेको थियो । भक्तपुरमा पनि लप्सी कार्यक्रम प्रभावकारी रुपमा लागू भएको मैले बुझेको छु । तर विभिन्न कारणबाट कृषि मन्त्रालयको उक्त सहयोग रोकिदा हामीले कार्यक्रमलाई निरन्तर दिन सकेका छैनौं । त्यसका लागि अहिले संघीय, प्रादेशिक र स्थानीय सरकारसंग यस विषयमा के कसरी सहकार्य गर्न सकिन्छ त्यसमा छलफल भैरहेको र त्यसको निरन्तरताको लागि पहल भैरहेको छ । 

भक्तपुर निकै धेरै सम्भाव्यता बोकेको जिल्ला हो । कृषि, पर्यटन, कला संस्कृति यसका समृद्धिका आधार हुन । जिल्लाको समृद्धिका लागि हामी आफैले अलिकति प्रोएक्टिभ भएर कामहरु थालौं । सरकारले कुन ठाउंमा कसरी सहयोग गर्नुपर्ने हो त्यसको पहिचान सहित हामी हाम्रा सुझावहरु तयार गरौं । यसका लागि भक्तपुर उद्योग वाणिज्य संघले अग्रणी भूमिका निर्वाह गरोस । तपाइहरुलाई के कस्तो सहयोग चाहिन्छ भन्नुहोस महासंघले सकेको सहयोग गर्छ । 

भक्तपुर उद्योग वाणिज्य संघले ऐतिहासिक स्वर्ण वर्ष मनाइसकेको संघले स्थानीय तहमा उद्योग व्यवसायको विकास, भक्तपुरको कला स“स्कृतिको जगेर्ना र सामाजिक काममा समेत अग्रभागमा रहेर आफ्नो भूमिका निर्वाह गरेको छ । समग्र भक्तपुर जिल्ला कला संस्कृतिमा सम्पन्न छ । नेपालको पर्यटन उद्योगमा भक्तपुर जिल्लाको योगदान उल्लेख्य छ । दीगो आर्थिक विकासका लागि पर्यटनको ठूलो भूमिका हुने । टुरिजम इन्फरमेशन सेन्टरका अनुसार विक्रम सम्वत २०७५ मा भक्तपुर घुम्न आउने पर्यटकहरुको संख्या ३५ हजार रहयो भने भक्तपुर उपमहानगरपालिकाले रू.२६ करोड ४९ लाख राजस्व संकलन गरयो । यो वर्षेनी बढेको तथ्यांक पाइन्छ । भक्तपुरका प्रमुख पर्यटकीय गन्तव्यहरुको भौतिक पूर्वाधार सुधारमा ध्यान दिन सकियो भने अझ बढी पर्यटन आकर्षण गर्न सकिने देखिन्छ ।  

विशेष गरी भक्तपुरको दरबार एक्वायर क्षेत्र विश्व सम्पदा सूचीमा समेत सुचिकृत । नेपालको इतिहासमा यो क्षेत्रले टिवेट र इण्डियाको ट्रेड रुटको रुपमा समेत पहिचान पाएको पाइन्छ । भक्तपुरको यो क्षेत्रले नेवारी ऐतिहासिक स“स्कृतिको जीवन्त गहिराईको प्रदर्शनी समेत गरेको छ । भक्तपुरको जुजुधौ, भादगाउले कालो टोपी, हाकु पटासी विश्वमै प्रशिद्ध छन् । साथै पोल्टी व्यवसाय र हस्तकलाका सामान विशेष गरी माटोका भाडाका लागि भक्तपुर जिल्ला धनी छ । समग्र यी वस्तुहरुले जिल्लाको आर्थिक व्यवसायिक सामाजिक सांस्कृतिक विकासमा अमुल्य योगदान पुरयाएका छन् । यस जिल्लामा होम स्टे व्यवसाय पनि फस्टाउंदै गएको मैले पाएको छु । पर्यटन मन्त्रालयका अनुसार सन् २०१९ सम्म भक्तपुरमा समुदाय र निजी स्तरबाट १७ वटा होमस्टे संचालनमा रहेका छन् । वातावरण अनुकुल हुने वित्तिकै यो संख्यामा बढोत्तरी हुने देखिन्छ ।

भक्तपुरको दरबार स्क्वायर, टोमाधी स्क्वायर, दत्तात्रय स्क्वायर, पोल्टी स्क्वायर का आ–आफ्नै महत्व रहेको पाइन्छ । यी क्षेत्रहरुको गहिरो अध्ययन गरेर हेर्ने हो भने भक्तपुर जिल्ला परापूर्वकालमा आर्थिक व्यापारिक र कला संस्कृतिमा कति धनी रहेछ भन्ने कुरालाई स्पष्ट हुन्छ । भक्तपुर जिल्लाको आर्थिक विकासको प्रमुख आधार र सम्भाव्य क्षेत्र पर्यटनलाई लिन सकिन्छ । यो क्षेत्रको प्रवद्र्धन मार्फत स्थानीय जनताको जीवनस्तर सुधार गर्दै समग्र जिल्लालाई नै आर्थिक रुपमा सम्पन्न गराउन विभिन्न सांस्कृति गतिविधि संचालन, पर्यटन मेला तथा महोत्सव, सांस्कृतिक नृत्यहरु लगायत यहांको कला संस्कृतिलाई प्रवद्र्धन गर्ने कार्यक्रममा विशेष जोड दिनुपर्ने देखिन्छ ।  

समग्र जिल्लामा उद्यमी व्यवसायीले भोग्नु परेका समस्याका विषयमा संघका अध्यक्षज्यूले प्रष्ट पारी सक्नु भएको छ । कोभिडका कारण साना तथा मझौला उद्योग व्यवसाय सवैभन्दा बढी प्रभावित छन् । साना तथा मझौला उद्यम व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीति मार्फत आएका राहत कार्यक्रम विनाकुनै अवरोध र झन्झट लागू हुनुपर्ने कुरामा हामीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं ।  केही दिन अघि मात्र हामीले अर्थमन्त्रीलाई समेत भेटेर उद्यमी व्यवसायीहरुको कर विवरण बुझाउने म्याद थप तीन महिना बढाउन र बैंकहरुलाई यही पौष मसान्त भित्र बुझाउनु पर्ने ऋण तिर्न तोकिएको समय अपर्याप्त भएकाले कम्तीमा तीन महिना पर सारिदिन पनि आग्रह गरेका छौं । 

साथै साना तथा मझौला उद्यमीलाई मौद्रिक नीति मार्फत घोषणा गरिएका राहत प्याकेज बाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवद्र्धन लगायतको प्याकेज ल्याउन र बजेटको मध्यावधि समिक्षामा विशेष राहत प्याकेज राखिदिन आग्रह गरेका छौं । जिल्लामा उद्यमी व्यवसायीहरुले व्यवसाय दर्ता तथा नविकरण, ढक तराजुको नविकरण, अनुगमन, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण तीर्न ताकेता लगायतमा निकै धेरै समस्याहरु भोग्नु परेको छ । महासंघले उद्यमी व्यवसायीहरुले भोग्नु परेका समग्र समस्याहरुलाई वास्तविक रुपमा पहिचान गरी तीनको समाधानका लागि सरकारमा सुझाव पेश गर्ने कार्यक्रम छ । यसमा तपाईहरु सवैको अर्थपूर्ण सहयोग अपेक्षा हामीले गरेका छौं ।

(महासंघका अध्यक्ष गोल्छाले भक्तपुर उद्योग वाणिज्य संघको ३३औं वार्षिक साधारण सभामा व्यक्त गरेको विचारको सम्पादित अंश ।)

Advertisement

Advertisement