चापागाईँ घर गए, नयाँ आउने टुंगो छैन, अड्किए दर्जनौं काम

Advertisement

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सञ्चलक समिति बैठकले पुस १५ गते रोहित कुमार भट्टराईलाई अध्यक्ष नियुक्त गर्यो । तर उनले अझैसम्म कार्यभार सम्हाल्न पाएका छैनन् । कारण, उनले पद तथा गोपनियताको सपथ ग्रहण गर्न पाएकै छैनन् । यतिबेला झण्डै दुई दर्जन बीमा कम्पनीहरुको वित्तिय विवरण बीमा समिति पुगेको छ । तर त्यसको अध्ययन र स्वीकृतिको काम रोकिएको छ । वित्तिय विवरण स्वीकृत नभएपछि कम्पनीहरुको साधारण सभा प्रभावित भएका छन् भने लगानीकर्ताले पाउने लाभांशको समय पनि पछि धकेलिएको छ । 

अधिकांश जीवन बीमा कम्पनीहरुले नयाँ बीमा पोलिसी बनाएर समिति पठाएका छन् तर त्यसले तत्काल स्वीकृति पाउने अवस्था छैन् । दर्जन कम्पनीले नयाँ शाखा स्थापनाको अनुमति माग्दै निवेदन हालेका छन्, तर त्यो पनि रोकिएकै छ । दर्जनौं उजुरीमाथिको सुनुवाई पनि स्थगित छ । बीमा कम्पनीहरुको संस्थापक सेयर कारोबार गर्ने बाटो पनि बन्द भएकै छ । 

Advertisement

यी सबैको कारण भनेका बीमा समितिको अध्यक्षको रिक्तता नै हो । चिरञ्जीवी चापागाईँ आफ्नो चार वर्षे कार्यकाल पुस २३ गते पुरा भयो । उनले पुस १४ गतेदेखि नै विदामा बस्ने निर्णय लिए । २०७३ पुस १४ गतेको मन्त्रिपरिषद बैठकबाट अध्यक्ष नियुक्त भएका चापागाईँले २३ गते कार्यभार सम्हालेका थिए । 

पुस १४ पछि समितिमा पुगेका अधिकांश फाइल खोलिएका छैनन् । ‘अध्यक्षज्यूको पद रिक्त भएपछि नियमित प्रशासनिक बाहेकका काम अघि बढाउन सकिएको छैन्, हामी आफ्नो अधिकार अनुसार काम गरिरहेका छौं तर महत्वपूर्ण निर्णय गर्न अध्यक्षज्यू नै चाहिन्छ’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पाेरेट नेपालसँग भने । 

बीमा समितिका अधिकांश काममा अध्यक्षको प्रत्यक्ष संलग्नता अनिवार्य हुन्छ । त्यसमा पनि सामुहिक निर्णय प्रणालीलाई अवलम्बन गरेर सञ्चालक समिति बैठकबाट निर्णय गराउनुपर्ने हुन्छ । अध्यक्ष नहुँदा पनि जेष्ठ सदस्यको अध्यक्षतामा सञ्चालक समिति बैठक बस्न त सक्छ । तर नीतिगत विषयमा अध्यक्षबिनै निर्णय लिन मुस्किल हुने भएकाले अहिलेसम्म बैठक बसेको छैन् ।

वित्तिय विवरण स्वीकृति, शाखा खोल्ने अनुमति, नयाँ पोलिसीलाई अनुमति, संस्थापक सेयर कारोबार खोल्ने, साधारण सभा र लाभांशको स्वीकृति, उजुरीको सुनुवाई लगायतका काम अध्यक्ष बिना सम्भव हुन्न । ‘समितिमा अध्यक्ष नहुँदा हाम्रा धेरै काम रोकिएका छन्, बीमा क्षेत्रको उचित नियमन र प्रवद्र्धनका लागि तत्कालै अध्यक्षको नियुक्त हुनु आवश्यक छ’, एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । 

को को छन् लाइनमा ? 
बीमा समितिको अध्यक्षमा दोहोरिन चापागाईँ आफैं इच्छुक थिए तर नेकपाको शक्ति संरचनामा आएको बदलावका कारण उनले रेस छोडेको घोषणा गरेका छन् । प्रचण्ड शक्तिमा हुँदा उनी दोहोरिने सम्भावना थियो । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जिम्मेवारी पाए सम्हाल्न तयार छु, भनेर आफ्नो इच्छा प्रकट गरिसकेका छन् । झापाका शिवाकोटी गभर्नर बन्ने अभियानमा थिए तर असफल भए । अब ओलीले बीमा  समितिको अध्यक्ष बनाएर उनलाई क्षतिपुर्ति तिरिदिने सम्भावना पनि छ ।

राष्ट्रपति  विद्या भण्डारीको जोडबलमा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला अध्यक्ष बन्ने तयारीमा छन् । उता, अर्थमन्त्री विष्णु पौडेलको खास मान्छे भनेर चिनिएका राष्ट्र बैंकका पूर्व निर्देशक कल्याण बन्धु अर्याल पनि अध्यक्ष बन्न लागिपरेका छन् । नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईँ, आइक्यानका पूर्व अध्यक्ष कृष्ण आचार्य, टंक पनेरु, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल लगायतमा अध्यक्ष बन्ने दौडमा छन् । 

पछिल्लो समय बीमा समितिकै पूर्व कार्यकारी निर्देशक श्रीमान कार्कीको नाम पनि चर्चामा आएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको नाम पनि अघि आएको छ । अर्थमन्त्रीले सिधै मन्त्रिपरिषदमा प्रस्ताव लगेर बीमा समितिको अध्यक्ष नियुक्त गर्न सक्ने सुबिधा छ । 

Advertisement

Advertisement