परराष्ट्रमन्त्रीले उद्घाटन गरेको चार तारे रमादा अनकोर होटल 'अवैध'

Advertisement

काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गरेको चार तारे रमादा होटल दर्ता बिनै सञ्चालन भएको पुष्टि भएको छ । अन्तराष्ट्रिय चेन रमादा अनकोरमा आवद्ध होटलको परारष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पुस २४ गते उदघटन गरेका थिए ।  तारे होटल सञ्चालन पूर्व पर्यटन विभागबाट अनुमति लिनुपर्छ । त्यस्तो होटलको पूर्वाधार, सुविधाको अवलोकन गरेपछि विभागले तारे स्तर प्रदान गर्छ । त्यसरी होटल निर्माण गर्दा क्षमता अनुसार प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन लगायतका प्रक्रिया समेत पुरा गर्नु पर्छ । होटल सञ्चालन पूर्व विभागमा अनुमतिका लागि निवेदन दिएपछि मात्रै पूर्वाधारहरुको अवलोकन हुने गरेको छ । 

तर रमादा अनकोरले भने स्वीकृतिका लागि हालसम्म निवेदन पनि दिएको छैन् । ‘रमादा अनकोर होटललाई चार तारे मान्यतासहित सञ्चालनको अनुमति दिएका छैनौं’, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले कर्पाेरेट नेपालसँग भने । रमादा अनकोर दर्ता प्रक्रियामा हुन सक्ने उनले बताए । तर विभाग श्रोतले भने रमादा नामको कुनै पनि होटलले स्वीकृतिका लागि निवेदन नदिएको बतायो । 

Advertisement

महानिर्देशक तामाङले होटल सञ्चालन अघि प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने बताए । वातावरणीय प्रभाव मूल्यांकन बिना निर्माण अघि बढाउन नपाइने पनि उनले स्पष्ट पारे । ठमेलमा सेवा आरम्भ गरेको होटलले विश्वभरका ९ हजार होटल आफ्नो चेनमा रहेको बताएको छ । होटल स्थापनका लागि नबिल बैंकले फाइनान्स गरेको छ । शेयरधनी तथा बैंक लगानी समेत गरी हालसम्म २ अर्ब लगानी भइसकेको र निर्धारित योजना अनुसार यसलाई बिस्तार गर्दा लगानी करीब ३ अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ ।

होटल सञ्चालक समितिको अध्यक्ष शान्तिरमण पंगेनी छन भने अन्य सञ्चालकहरुमा उद्योगी व्यवसायीहरु भीमलाल पौड्याल, भीष्म प्रसाई, जेएन ज्ञवाली, कृष्ण ज्ञवाली र कालिदाश गोतामे रहेका छन् । नविल बैंकले ऋण लगानी गरेको होटलको प्रारम्भिक लगानी दुई अर्ब ५० करोड रुपैयाँ पुगिसकेको छ । विदेशी पर्यटक लक्षित बजारीकरण गरिने यो होटल चार तारे तहको छ ।

सेवाको गुणस्तर रमादा ब्रान्डको स्तरकै हुने बताईएको छ । होटलमा पाहुनाका लागि स्टुडियो, सुविधायुक्त कोठा, टेरेस रेस्टुरेन्ट, ब्यांक्वेट, सेमिनार हल, स्विमिङ पुल र जिम हल आदि सुविधा छन् ।

कारवाहीको व्यवस्था छैन: तामाङ
पर्यटन विभागका महानिर्देशक तामाङले नियम नमान्ने होटलहरुलाई कारवाही गर्ने कानुनी व्यवस्था नै नभएको बताए । उनले धेरै होटलहरु अहिले पनि दर्ता बिनै सञ्चालनमा रहेको तर कारवाही गर्न अधिकार विभागसँग नभएका बताउँदै कानुनी सुधारको प्रयास पनि अघि बढाईसकेको जानकारी दिए । ‘होटलहरुलाई कारवाही मात्रै होइन, नविकरण गर्न एक रुपैयाँ दस्तुर पनि तिर्नु नपर्ने व्यवस्था छ ।’ नविकरण गर्न दस्तुर तिर्नै नपर्ने भएपछि होटलहरुले पनि नविकरण गर्नै छाडेको पनि उनले बताए । 

विभागले केहि दिनभित्रै तारे होटलहरुलाई तारे पुष्टि हुने प्रमाण राख्न निर्देशन दिने तयारी गरेको छ । ‘केहि दिनभित्रै तारे होटलहरुलाई कति तारे हो ? त्यसको विवरण देखिने गरि राख्न निर्देशन दिने तयारी गरिरहेका छौं’, तामाङले भने । आगामी साता होटल संघ मार्फत त्यस्तो निर्देशन गरिनेछ । 
 

Advertisement

Advertisement