एमसीसी पास नगरे अर्बौं रुपियाँको विजुली खेर जान्छ, पास गर्नैपर्छः मन्त्री टोपबहादुर रायमाझी

Advertisement

काठमाडौं । उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी अनुदान परियोजना एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने ? तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्बलमा मंगलबार उनले एमसीसीमा अलमल हुँदा अर्बौं रुपियाँको विद्युत खेर जाने अवस्था आएको जिकिर गर्दै तत्काल यसलई टुंगो लगाउनुपर्ने बताए । उनले भने, ‘एमसीसीलाई वारपारमा लैजाऔं,’ मन्त्री रायमाझीले भने,‘हामी एक दिन त के एक छिन पनि पर्खेर बस्ने अवस्थामा छैनौं, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, नबन्दा भदौबाट ५ सय मेगावाट विद्युत खेर जाने अवस्था आइसक्यो ।’ 

Advertisement

अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अझै टुंगोमा नपुग्दा ऊर्जामन्त्री रायमाझीको पछिल्लो भनाई आएको हो । उनले एमसीसीले ट्रान्समिसनमा लगानी गर्ने भन्दै गर्दा झुण्डिएर अनिर्णयमा रहेर बसिरहेको बताए । उनले एमसीसीलाई लागू गर्न जोड दिए । रायमाझीले भने, ‘हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुन कुन बुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔं ।’ 

रायमाझीले प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएका आरोप लगाए । उनले ओलीलाई विगतमा पार्टी एकता हुँदा पहिलो अध्यक्ष बनाएको, प्रधानमन्त्री बनाएको र संसदीय दलको नेतासमेत बनाएको स्मरण गर्दै रायमाझीले अहिले ओलीलाई धोका दिएको आरोप लगाए । “पहिलो सर्वसम्मत गर्ने, अहिले कोकोलाई केके इच्छा लाग्छ, मागेर पाउने कुरा हो ?” उनले प्रश्न गरे । प्रचण्ड माधव समुहले पार्टी छोडेर गएको आरोप लगाउँदै अहिले हामी यहाँ छौँ भनेर सडकमा देखापरेको भन्दै रायमाझीले व्यङ्ग्यसमेत गरे । 

रायमाझीले आफू कुनै पनि खेमामा नरहेको बताउँदै आफै सफल नेता भएको बताए । आफू अवसरवादी नेता नभएको भन्दै उनले जनमुक्ति सेना र गुरिल्ला बनाउन विगतमा महत्वपूर्ण भूमिका खेलेको बताए । “अवसरवादीका कुरा गर्ने ? को अवसरवादी ? कसैले हिम्मत गरोस्, आधार पेश गरोस् न ?” उनले भने । आफ्ना सामुन्ने आएर अवसरवादी भन्न चुनौती दिए । जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि डा. बाबुराम भट्टराई देशका लागि आवश्यक व्यक्ति भनेर काँध थापेको तर माओवादी केन्द्र छोडेपछि आफूले साथ दिन नसकेको उनले बताए । 

उनले नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण फलदायी हुने बताए । मन्त्री ज्ञवालीको भ्रमणका क्रममा १९५० को सन्धीका विषयमा छलफल गर्ने एजेण्डा तय भएको उनको दावी छ । उर्जासम्बन्धी एजेण्डामा पनि छलफल हुने रायमाझीले बताए । ४ सय केबीको ट्रान्समिसन लाइनको विषयमा छलफल हुने बताउँदै उनले उक्त लाइनबाट नेपालको विद्युत भारत र भारतको विद्युत नेपाल ल्याउनुपरेमा सहज हुने बताए । विद्यतु व्यापारसम्बन्धमा पनि छलफल हुने उनको भनाई छ । त्यसैगरी, माथिल्लो कर्णालीका विषयमा पनि दुई पक्षीय छलफल हुने छ । 

नेपालमा अहिले विद्युतको अभाव नभएको भन्दै उत्पादन बढेकाले खपत कसरी गर्ने भन्ने समस्या रहेको मन्त्री रायमाझीले बताए । उनले लोडसेडिङ्ग नभएको स्पष्ट पारे । बेला बेलामा वत्ती जाने समस्याबारे सोधेको प्रश्नमा उनले,‘गत वर्षभन्दा यो वर्ष कम विद्युत गएको छ ।’ तपाई मन्त्री बन्नासाथ किन विजुली आउने जाने भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री रायमाझीले भार वितरण केन्द्रमा भएको समस्याले विद्युत आपूर्तिमा समस्या आएको बताए । तर, गत वर्षभन्दा कम पटक विजुली गएको स्पष्ट पारे । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै विद्युत आपूर्तिको तथ्याङ्क नै पेश गरेका थिए । 

नेपाल लोडसेडिङमुक्त हुनुमा अघिल्लोपटक आफू मन्त्री हुँदा बनाएको मास्टरप्लानले भुमिका खेलेको रायमाझीको दावी छ । मास्टरप्लान बनाउँदा त्यसबेला कुलमान घिसिङलाई पनि समितिमा समेटेर बनाएको उनले जानकारी दिए । यस विषयमा स्वयम् घिसिङले पनि स्वीकारेको उनले बताए । 

आफूले नै विद्युत प्राधिकरणको प्रमुखका रुपमा घिसिङलाई ल्याउने पहल सुरु गरेको रायमाझीले बताए । “त्यसबेला मुकेश काफ्लेलाई हटाएर घिसिङलाई ल्याउने योजना मेरो हो । मैले नै वातावरण सिर्जना गरेको हो । तर सरकार परिवर्तन भयो । जसले गर्दा मेरो पालामा हुन पाएन । तर मेरै योजना हो” उनले भने ।

अहिलेको आफ्नो चुनौति धेरै भएको विजुली कसरी खपत गर्ने भन्ने रहेको उनको भनाई छ । आगामी भदौसम्म त ५ सय मेघावाट विजुली धेरै भएर खेर जाने अवस्था रहेको उजले जानकारी दिए । 

Advertisement

Advertisement