नेपाल बैंकको एजीएमबाट १६ प्रतिशत लाभांश पारित, ३ जना सञ्चालक निर्वाचित

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६१औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भर्चुअल मार्फत आयोजना गरिएको वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । 

यस अवसरमा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो ।

सभाले हालको चुक्ता पूँजी रु.११,२८,२८,२०,२००/– को ४ (चार) प्रतिशतका दरले हुन आउने रु.४५,१३,१२,८०८/– (अक्षेरुपी पैंतालिस करोड तेह्र लाख बाह्र हजार आठ सय आठ) नगद लाभांश(लाभांश कर समेत) र चुक्ता पूँजीको १२ (बाह्र) प्रतिशतका दरले हुन आउने रु.१,३५,३९,३८,४२४/–(अक्षेरुपी एक अर्ब पैंतिस करोड उन्चालिस लाख अड्तिस हजार चार सय चौविस) रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 

साथै, बोनश शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी रु.१२,६३,६७,५८,६२४/– (अक्षेरुपी बाह्र अर्ब त्रिसठ्ठी करोड सतसठ्ठी लाख अन्ठावन्न हजार छ सय चौविस) कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर जबरा,  विष्णुकुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओमकृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले बताए ।