ओम्नीद्धारा अबैधरुपमा टिपरको ढाला बढाउँदै बिक्री गर्दै, यातायात कार्यालयहरु मुकदर्शक

Advertisement

काठमाडौं । नेपालमा भारत–बेन्जका टिपरहरु बिक्री गर्दै आएको ओम्नी मोटर्सले अवैधरुपमा ढालाको आयतन बढाई टिपर बिक्री गर्ने गरेको पाइएको छ । कम्पनीले च्यासिस र अरु बढी छुट्टाछुट्टै नेपाल भित्राएर सरकारले तोकेको मापदण्डविपरीत आयतन बढाई बिक्री गर्ने गरेको पाइएको हो । 

भारतबाटै ल्याउँदा ढाला बढाउन नपाइने भएपछि नेपालमा ल्याएर सरकारले तोकेभन्दा ठूलो आकार बनाएर बिक्री गर्ने गरिएको छ । भारत–बेन्जको नेपालका लागि आधिकारिक बिक्रेता रहेको ओम्नीले पूर्वी तथा पश्चिम तराईमा सरकारले तोकेभन्दा बढी भार बोक्नसक्ने बनाएर टिपर बिक्री गर्दै आएको छ । 

Advertisement

यातायात कार्यालयले अनुगमन गर्दा नै गैरकानुनी रुपमा ढालाको उचाई बढाएर टिपर बिक्री गर्ने गरेको पाइए पनि कम्पनीलाई कारवाही गर्न सरकारले आनाकानी गर्दै आएको छ । टिपरको आयतन बढाउँदा धेरै निर्माण सामग्री बोक्ने भएकाले ठेकेदारहरुले यस्तो टिपर ल्याउन बिक्रेता कम्पनीलाई प्रलोभन दिने गरेका छन् । यसरी आयतन बढाउँदा टिपरको दुर्घटनाको जोखिम बढ्नुका साथै सडकमा समेत क्षति धेरै पुर्याउने हुन्छ ।

तर, ओम्नी र ठेकेदारहरुले चाँडै धेरै नाफा कमाउन अवैध टिपरको सञ्चालनलाई प्रोत्साहित गर्ने काम गरेका छन् । यातायात व्यवस्या विभागले २०७१ मा मालबाहक सवारी साधनको भार नियमनसम्बन्धी कार्यविधि तयार पारेर मालबाहक सवारी साधनमा ढालाको उचाइ निर्धारण गरेको छ । कार्यविधि अनुसार टिपरहरुको तोकिएको आकारको ढाला मात्रै राख्न पाइन्छ । 

कार्यविधिमा छ चक्के टिपरको लागि ७.५ घनमिटरको ढाला र १० चक्के टिपरको ढाला १२ घनमिटरको ढाला तोकिएको छ। तर, ओम्नीले ल्याएको भारत–बेन्जको टिपरमा आफू खशी ढालाको आकार बढाएर ठाउँ ठाउँमा बिक्री गर्ने काम भएको छ । कारवाही गर्ने निकाय यातायात व्यवस्था कार्यालयहरु अहिले प्रदेश मातहत रहेका र बिक्रेता कम्पनी तथा ठेकेदारहरुले प्रलोभन र दबाबमा ती कार्यालयहरुलाई टिपरहरुलाई कुनै कारवाही गर्ने नगरेको देखिएको छ ।  

यातायात व्यवस्था विभागका अधिकारीहरुले कार्यालयहरु अहिले प्रदेश मातहत रहेकाले आफूहरुले यस्ता बदमासीमा कडा कारवाही गर्न नसकेको स्वीकार गर्दै यद्यपि सबै कार्यालयहरुलाई सवारी साधनको जाँचपास र नवीकरण गर्ने क्रममा टिपरहरुको नटबोल्ट कस्ने गरी निर्माण गरिएका ठाउँमासमेत ‘वेल्डिङ’ र ‘ग्रिन्डिङ’ गर्न लगाएर आवश्यक कारबाही गर्न भनिएको बताएका छन् । मापदण्ड विपरीत ढाला बढाएर टिपर चलाएको भेटिए ट्राफिक प्रहरीलाई पनि कारबाही गर्नका लागि अधिकार प्रत्यायोजन गरिएको विभागको भनाई छ । 

Advertisement

Advertisement