सुस्तादेखि लिम्पियाधुरासम्मको सीमा विवाद फेरि थाँती, भारतले पन्छायो

Advertisement

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सुस्तादेखि कालापानी–लिम्पियाधुरासम्मको विवादित सीमाबारे छलफल भएको छ । तर, समाधानको मोडालिटीका विषयमा भने बहस भएन ।

शुक्रबार दिल्लीमा भएको बैठकमा नेपालले दुई देशले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवाद समाधान गर्दै सम्बन्ध थप सुदृढ र विस्तार गर्नुपर्नेमा जोड दिएको छ । भारतले भने सीमा विवादबारे उपयुक्त संयन्त्रमा छलफल गरेर समाधान खोज्नुपर्ने बताएको छ । 

Advertisement

बैठकमा प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन, १९५० को सन्धि पुनरावलोकनलगायतका विषयमा पनि छलफल भएको नेपाली दूतावासले जनाएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा पनि सीमा, सन्धि, इपिजी प्रतिवेदनलगायतका विषयमा छलफल भएको उल्लेख छ, तर भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भने यसबारे केही खुलाइएको छैन । 

‘कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा सामान्य छलफल मात्रै भएको हो, विवाद कसरी समाधान गर्ने भन्ने ठोस छलफल नै भएन,’ बैठकमा सहभागी एक नेपाली अधिकारीले भने, ‘दुई देशबीच यसअघिको सहमतिअनुसार भइरहेको सुस्ता र कालापानीबाहेकको सिमाना सीमांकनको काम द्रुत रूपमा बढाउने सहमति भएको हो ।’

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement