निफ्राको आईपीओमा १५ लाख २९ हजार ४६० को आवेदन, हरेकलाई कम्तिमा ५० कित्ता पर्ने

Advertisement

काठमाडौं। नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को साधारण सेयरको प्राथमिक निष्काशन (आईपीओ)मा १५ लाखभन्दा धेरैको आवेदन परेको छ । सेयर आवेदनका लागि मंगलबारसम्म समय दिइएकोमा १५ लाख २९ हजार ४६० जनाको आवेदन परेको हो । 

आवेदन गत शुक्रबारबाट खुलाएको थियो । निफ्राको आईपीओका लागि मागभन्दा दोब्बर बढि रकमको आवेदन परेको हो । लगानीकर्ताहरुले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपियाँ बराबरको सेयरका लागि आवेदन दिएका छन् । 

Advertisement

बैंकले सर्वसाधारणको लागि सात करोड ५८ लाख ४० हजार कित्ताका लागि सेयर निष्काशन गरेको थियो । उक्त बैंकको सेयर बिक्री प्रबन्धकको जिम्मा पाएको एनआईबीएल एस क्यापिटलका अनुसार यो अपेक्षाभन्दा राम्रो आवेदन हो । सेयर आवेदकहरुको संख्याका आधारमा हरेकलाई कम्तिमा पनि ५० कित्ता पर्ने देखिएको छ । यदि ५० कित्ताभन्दा कम आवेदन गर्नेको संख्या बढ्यो र विभिन्न कारणले आवेदन रद्द हुने संख्या बढ्यो भने हरेकलाई ५० कित्ताभन्दा बढि सेयर पर्नसक्ने संभावना देखिन्छ । 

निफ्राले अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्न लागेको समाचारपछि अनलाइन आवेदन भर्नका लागि बैंकहरुमा डिम्याट खाता खोल्नेहरुको लाइन सुरु भएको थियो । डिम्याटमा २५ लाखभन्दा बढि दर्ता भइसकेको जनाइए पनि आवेदन भने सबैले गरेनन् । यसको मुख्य कारण एउटै व्यक्तिले धेरैको नाममा सेयर भर्ने ‘बोरे’प्रवृत्तिलाई नियन्त्रण गर्ने नियामक निकायहरुको निर्णयको कारण पनि हुनसक्ने विश्लेषकहरुको भनाई छ । 

अनलाइन आवेदन गर्ने सीडीएससीको सिस्टम डाउन भएपछि मंगलबार एक घण्टाको लागि समय थप गरिएको थियो । यसअघि सबैभन्दा बढी चन्द्रागिरि हिल्सको आईपीओमा दुई अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपियाँ बराबरको दुई करोड ४४ लाख ७४ हजार ५३० कित्ता सेयरका लागि १२ लाख ५१ हजार आवेदन परेको थियो ।

Advertisement

Advertisement