नेपाल इन्भेष्टमेण्ट बैंकको एजीएमबाट १८.५ प्रतिशत लाभांश पारित

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) को ३४औं वार्षिक साधारण सभा आज बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । 

महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल रुपमा सम्पन्न गरिएको हो । साधारण सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो । 

साधारण सभामा सञ्चालक समितिका अध्यक्षता पृथ्वीबहादुर पाण्डेले सञ्चालक समितिको बैठकले १८.५ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए । जसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिने प्रस्ताव पारित भएको हो । 

यस वर्ष बैंकले रु ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १५२ अर्बबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १२७ अर्बबाट वृद्धि भइ रु. १४१ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ । 

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।