काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पीत पत्रकारिता अहिलेको देशको ठूलो समस्या भएको बताएका छन् । नेकपा ओली समूह पक्षधर पत्रकारहरुको भेलामा बिहीबार उनले सरकारको आलोचना गर्ने मिडिया र पत्रकारहरुको आलोचना गर्दै व्यक्तिगत स्वार्थका लागि गलत समाचारहरु लेख्ने काम नगर्न सुझाव पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही पत्रिका, सञ्चार माध्यम । राम्रो कुरा देख्नपर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु, राम्रो कुरा बोल्नुपर्छ भने मुख थुन्छु । तिनले झुटो छाप्छन् । गलत छाप्छन् । जनतालाई दिग्म्रमित पार्छन् । जुन काम राष्ट्रको हितको पक्षमा छँदैछैन् । कुनै हालतमा छैन् र हुनैसक्दैन् ।’
उनले जब मानिस स्वार्थबाट अन्धो हुन्छ, जब मानिस आत्मा बेच्छ, त्यो नर्क पस्छ । नर्कमा गइसकेपछि फर्किनैसक्दैन्, जीउँदै नर्क जान्छ भन्दै जुनसुकै घाट र तीर्थस्थलमा नुहाए पनि, जतिसुकै पूजाअर्चना गरे उसलाई फर्काउन नसकिने बताए । केही मिडियाहरुले संसद विघटन गर्ने सरकारी निर्णयको चर्को आलोचना गर्दै आन्दोलनरत पक्षलाई साथ दिएपछि ओली रुष्ट भएका हुन् ।
ओलीले हरेक नेपालीमा देशभक्ति हुनुपर्ने बताउँदै कसैले नेपाली नागरिकता लिँदैमा वा कागजी प्रमाण हुँदैमा उ नेपाली हुनसक्ने, भित्रैदेखि देशभक्ति चाहिने बताए । कसैसँग रिस उठ्दैमा उसको विरुद्ध समाचार लेख्ने कुरा बहादुरी हुँदैन भन्दै उनले त्यस्तो पीत पत्रकारिता गर्नेहरु आफै तह लाग्ने बताए ।
ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले विभिन्न किसिमका हाउभाउ देखाएर सिनेमा देखाइरहेको टिप्पणी पनि गरे । प्रचण्ड र माधवले जनतालाई झुक्याउने काम गरिरहेको भन्दै उनले प्रचण्ड माधवको सम्बन्ध हिन्दी सिनेमा जस्तै भएको बताए ।
ओलीले भने, ‘सिनेमा भनेको हिरो हुन्छ, हिरोइन हुन्छ । लभ परेको हुन्छ धुमधामसँग । हिरोइनी घाइते हुन्छ। हिरो ब्याकुल हुन्छ । दुःखी हुन्छ। रुन्छ । वास्तवमा केही पनि होइन। न तिनीहरुको लभ पर्या हो। घाइते पनि होइन। पीर परेको पनि होइन, यो सबै तमासा हो। त्यही मानिसहरु सिनेमा देखाउन आउँछन्। जनतालाई झुक्याउँछन्। हामीले त्यस्ता तत्वहरुबाट सजक हुनुपर्छ।’
लोकतान्त्रिक बाटोलाई सही बाटोमा लैजानका निम्ति आफूले राजनीतिक लडाईं गरिरहेको जिकिर गर्दै उनले ुभने, ‘नेपाल समृद्धि हुनुपर्छ र नेपाली सुखी हुनुपर्छ। समृद्धिले मात्र सुख हुँदैन। त्यसका लागि जैविकी र मानवीय न्यायोचित आवश्यकताहरुको परिपूरित हुनुपर्छ। सामाजिक न्याय र समानता हुनुपर्छ। भयहरित वातावरण हुनुपर्छ। कसैबाट अपमानित नहुने अनुभूति सबैमा हुनुपर्छ।’