संसद विघटनको विरोधमा थप आन्दोलन गर्ने नगर्ने विषयमा काँग्रेसमा विवाद चर्कियो

Advertisement

काठमाडौँ । संसद विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम गर्ने कि नगर्ने ? भन्ने विषयलाई लिएर नेपाली काँग्रेसमा विवाद चर्किएको छ । काँग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष संसद विघटनमा अदालतले गर्ने निर्णयलाई पर्खिनुपर्ने पक्षमा देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सडक आन्दोलनलाई चर्काउनुपर्ने पक्षमा देखिएको छ । 

सबैभन्दा ठूलो दल नेकपा विभाजित भएसँगै प्रदेश सरकारहरु अल्पमतमा परेको बेला थप रणनीति बनाउन भेला भएका काँग्रेस नेताहरु वैचारिकरुपमै दुई धारमा उभिएका छन् । देउवा नेकपाको ओली पक्षसँग मिलेर जानुपर्ने लाइनमा देखिएका छन् भने पौडेल पक्ष नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर सडक तताउनुपर्ने पक्षमा देखिएको छ । 

Advertisement

आन्दोलनका कार्यक्रम घोषणा गर्ने कि नगर्ने ? भन्नेमा बल्झिएको विवाद काँग्रेसमा चर्किएर जाने देखिएको छ । सभापति शेरबहादुर देउवाले थप आन्दोलनका कार्यक्रम घोषणा नगरी अदालतको निर्णयसम्म पर्खनुपर्ने लडानमा रहेका छन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेल भने पार्टीले सडक छोड्न नहुने र प्रचण्ड–माधव समूहसँग मिलेर जानुपर्ने कुरालाई जोड दिएको छ । माघ १३ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले थप आन्दोलनका कार्यक्रम ल्याउनुपर्ने पौडेल समूहको भनाई छ । तर, देउवा समूह त्यसका लागि तयार देखिन्न । 

पौडेल समूहअनुसार संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेस मौन बस्न हुँदैन् । त्यसका लागि सशक्त आन्दोलनका कार्यक्रम आवश्यक छ । पौडेल पक्षधर नेता कृष्ण सिटौलाले माघ ६ को केन्द्रीय कार्यसमिति बैठकले नै विरोधका थप कार्यक्रम घोषणा नगरेकोमा असन्तुष्टि जनाउँदै आएका छन् । भारतमा १२ बुँदे सम्झौता गर्दादेखि तत्कालिन माओवादीसँग शान्ति सम्झौतामा सक्रिय रहे पनि भारतमा नरेन्द्र मोदीको सरकार आएपछि एकाएक निष्क्रिय बन्न पुगेका सिटौला संसद विघटनको निर्णयप्रति पछिल्लो समयमा निकै आक्रामक देखिएका छन् । 

यता देउवाका विश्वासपात्र प्रकाशशरण महतले भने दोस्रो चरणको कार्यक्रम सम्पन्न भएकाले अब अदालतको निर्णय पर्खनुपर्ने बताउँदै आएका छन् । उनले अदालतको जस्तो निर्णय आए पनि पार्टीले स्वीकार गर्नुपर्ने भन्दै अदालतलाई दबाब दिने काम कतैबाट पनि गर्न नहुने बताएका छन् । देउवा सुरुदेखि नै आन्दोलनको विपक्षमा रहे पनि पौडेल पक्षको दबाबका कारण दुई चरणको विरोध प्रदर्शन गर्न तयार भएका थिए । 

Advertisement

Advertisement