मलाई एक नम्बर अपराधि ठानेर ओलीले सिध्याउन लागेः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले आफूलाई नम्बर एक अपराधी ठानिरहेको टिप्पणी गरेका छन् । 

शुक्रबार आयोजित विरोध सभामा उनले आफूलाई अपराधि ठानेको भन्दै आफूलाई ओलीले राजावादी र दक्षिणपन्थीसँग साँठगाँठ गरेको आरोप लगाए ।

प्रचण्डले भने, ‘ओलीलाई प्रचण्ड एक नम्बर अपराधी भन्ने लागेको छ, प्रचण्डलाई जसरी पनि सिध्याउनुपर्छ भनेर राजावादी र दक्षिणपन्थीसँग मिलेका छन् ।’

ओलीका पछाडि पूर्व राजा ज्ञानेन्द्र शाहका मान्छेहरु दौडिएको उनको आरोप छ । प्रचण्डले भने, ‘ज्ञानेका मान्छे ओलीको पछाडि दौडिएका छन्, ओली गणतन्त्र विरोधी हुन् ।’

अदालतले संसद पुनःस्थापनाको पक्षमा निर्णय गर्ने र निर्वाचन आयोगले पनि आफूहरुलाई वैधानिक नेकपा मान्ने उनको जिकिर छ । प्रचण्डले भने, ‘यो विशाल जनसागर अदालत र निर्वाचन आयोगले पनि देख्छ । यो जीत सुनिश्चित गर्ने फेक्टर हुनेछ ।’

ओलीले कर्मचारीलाई समेत धम्की दिएर प्रदर्शनमा सहभागी हुनबाट रोक्न खोजेको नेता प्रचण्डले आरोप लगाए । उनले कसैसँग नडराउन कर्मचारीहरुलाई आग्रह पनि गरे । प्रचण्डले ओलीबाट कुनै कर्मचारी कारबाहीमा परेमा संरक्षण गरिने समेत बताए । प्रचण्डले भने, ‘छोएर देखाऊ चुनौती दिन्छु । कर्मचारीको रौं मात्र पनि हल्लिए हामी छौं ।’