स्टक ब्रोकरको गुनासो– ‘टी प्लस टू’ले हाम्रो जोखिम गुणात्मकरुपमा बढ्ने भयो

Advertisement

काठमाडौं । स्टक ब्रोकरहरुले आइतबारबाट लागू हुन लागेको ‘टी प्लस टू’ प्रणालीले आफूहरुको जोखिम गुणात्मकरुपमा बढ्ने भन्दै चिन्ता जनाएको छ । 

हाल ‘टी प्लस थ्री’ राफसाफ चक्रमै ठूलो आर्थिक जोखिम मोलिरहेको बेला ‘टी प्लस टू’ले यो जोखिम गुणात्मकरुपमा बढ्ने भन्दै नेपाल स्टक ब्रोकर एशोसियशनले यस्तो जोखिम न्यूनीकरणका लागि सबैको सहयोग जरुरी रहेको बताएको छ । 

Advertisement

नेपालको पुँजी बजारको विकास र विस्तारका चरणहरुका क्रममा सिडियस एण्ड क्लियरिङ लिमिटेडले आइतबार ‘टी प्लस टू’ कार्यान्वयन गर्न लागेको हो । हाल दोस्रो बजारमा राफसाफसँग सम्बन्धित पूर्वाधारहरु पूर्ण र स्वचालित भई नसकेको अवस्थामा लगानीकर्ताहरुले ‘टी प्लस वान’ लागू गर्नुपर्ने माग गरिरहेको बेला ‘टी प्लस टू’ लागू गर्न लागिएको हो । 

एशोसियशनले विज्ञप्तिमा भनेको छ, ‘बजारको विकास र विस्तारको सधै आशा गरिरहने हामी व्यवसायी यस्तो जोखिमको व्यवस्थापनको लागि आवश्यक पर्ने ठुलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापना, अक्सन मार्केट तथा सेक्यूरिटिज लेन्डिङ एण्ड बरोइङ मार्केटको संचालन, पावर अफ एर्टनि, अटो ईडीआईएसको व्यवस्था सम्बन्धित निकायले चाडै नै गर्न सकोस भन्ने अनुरोध गर्दै यस्तो जोखिम लिएर भए पनि अझ बढि बजारको स्वच्छ संचालनको लागि हामी व्यवसायी तप्पर छौ ।’

‘टी प्लस टू’ राफसाफ चक्रको सफल कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षले आ–आफ्नो जिम्मेवारी समयमै निर्वाह गनुपर्ने भन्दै स्टक ब्रोकर एशोसियनले राफसाफ प्रक्रियाको सुरुवात नै लगानीकर्ताहरुबाट हुने हुँदा ‘टी प्लस टू’ सफल कार्यान्वयनका लागी लगानीकर्ता अझ बढि जिम्मेवार हुनुपर्ने बताएको छ । 

यस्तो छ एशोसियशनको भनाईः 
धितोपत्रको बिक्री गरिसकेपछि लगानीकर्ताहरुले आफूले बिक्री गरेको धितोपत्रको भारित औसत लागत गणना  गर्ने  र बिक्री गरेको धितोपत्र कारोवार भएको दिनबाहेक थप एक कार्यदिनको कार्यालय समयभित्र डीआईएस प्रयोग गर्ने भए सम्वन्धित निक्षेप सदस्यलाई भौतिक डीआईएस हस्तान्तरण गरी सम्बन्धित दलाल व्यवसायीलाई भारित औसत लागत घोषणा फारम भरी बुझाउने वा मेरो शेयरको प्रयोग गरी ईडीआईएसमार्फत सम्बधित दलाल व्यवसायीको पुल खातामा धितोपत्र हस्तान्त्रण गर्नु पर्नेछ  । कुनै कारणबस बिक्री गरेको धितोपत्रको १२ बजेभित्र दलाल व्यवसायीको पुल खातामा हस्तान्त्रण नभएमा  धितोपत्र संख्याको बिक्री रकमको २० प्रतिशत रकम कोलोजआउटमा जाने र सो  बराबरको बिक्री रकमको २० प्रतिशत रकम जरिवाना स्वरुप सम्बन्धित बिक्री गर्ने लगानीकर्ताको  खाताबाट कट्टि भई खरिद गर्ने लगानीकर्ताको खरिद हिसाबमा जम्मा हुने कानूनी  व्यबस्था रहेको छ । बाँकी कारोबार राफसाफ पश्चात यथासिघ्र बिक्री रकम लगानीकर्ताको खातामा जम्मा गर्ने दायित्व व्यवसायीको हुनेछ ।

त्यसैगरी, धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गर्ने कुल अनुमानित रकमको धितोपत्र व्यवसायीले तोकेको प्रतिशतले हुन आउने रकम खरिद आदेश राख्नुपूर्व नै विद्युतीय माध्यमबाट अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने छ । कारोवार भएपश्चात बाँकी रहेको रकम टी प्लस वानभित्र अनिवार्यरुपमा विद्मुतीय माध्यमबाट भुक्तानी गनुपर्ने छ । साथै समयमा खरिद रकम भुक्तानी नगरेमा खरीद गरेको धितोपत्र नेप्से तथा सिडियस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराई बिक्री गरी व्यवसायीले आफ्नो रकम असुल उपर गर्न सक्ने तथा सो समयावधिभित्र व्यवसायीले बहन गर्नुपर्ने थप लागत पनि सम्बन्धित लगानीकर्ताबाट असुलउपर गर्नसक्ने कानुनी व्यवस्था रहेको छ । खरिद कारोबार राफसाफ पश्चात खरिद रकमको भुक्तानी भएपछि यथासिघ्र खरिद गरिएको धितोपत्र लगानीकर्ताको खातामा जम्मा गर्ने व्यवसायीको दायित्व हो । 

समयमा नै आफ्नो  दायित्व पुरा गरी टी प्लस टू राफसाफ चक्रको सफल कार्यान्वयनमा सहयोग गर्दिनुहुन सम्पूर्ण लगानीकर्ताहरुमा एशोसिएसन विनम्र अनुरोध गर्दछ । ‘टी प्लस टू’ राफसाफ चक्रको सफल कार्यान्वयनले हाम्रो बजार अन्तर्राष्ट्रियस्तरको यात्रामा थप अघि बढ्ने  धितोपत्र बजारमा थप तरलता वृद्धि हुने, बजारको उतार चढाब बाट लगानीकर्ताले थप लाभ लिन सक्ने र सबैमा थप उत्साह र उर्जा  मिल्ने छ भन्ने एशोसिएसन्को आशा रहेको छ ।

Advertisement

Advertisement