'एकद्धार प्रणालीले वैदेशिक व्यापारमा नयाँ युगको थालनी हुन्छ'

भन्सार विभागले माघ १३ गते ६९ औं भन्सार दिवस मनाउँदैछ । आयात निर्यात व्यापारलाई थप व्यवस्थित, पारदर्शि र आधुनिक बनाउनका लागि राष्ट्रिय एकद्धार प्रणाली (नेशनल सिंगल विण्डो सिस्टम) कार्यान्वयन गर्दैछ । कृषि मन्त्रालय मातहतका तीन वटा विभाग मार्फत पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको प्रणालीबारे विभागका महानिर्देशक सुमन दाहालसँग गरिएको कर्पाेरेट वार्ता । 

राष्ट्रिय एकद्धार प्रणाली(नेशनल सिंगल विन्डो सिस्टम) के हो र यसले कसरी काम गर्छ ? 
आयात निर्यात व्यापार अर्थात वैदेशिक व्यापारमा लाइसेन्स, परमिट तथा प्रमाणपत्र जारी गर्ने सबै  िनिकायहरुलाई डिजिटलाइज गर्ने प्रणाली हो नेशनल सिंगल विण्डो सिस्टम । अहिले आयात निर्यातको ८३ प्रतिशत हिस्सा कृषि मन्त्रालय मातहतका तीन वटा निकायले ओगट्ने रहेछन् । ति निकायहरुलाई पहिलो चरणमा विण्डोमा आवद्ध गराउँदैछौं । त्यसपछि क्रमशः ४० वटै निकायहरुको सेवा त्यहि विण्डो मार्फत प्रवाह हुने वातावरण बनाउँछौं । खाद्यान्नसँग सम्बन्धित कुनै पनि वस्तु आयात गर्नु पर्यो भने खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिनुपर्छ ।

हालसम्म त्यसका लागि पहिले निवेदन दिनु पर्यो, त्यसपछि टिप्पणी उठ्छ, भेरिफाई हुन्छ, स्वीकृत हुन्छ र बल्ल आयातका लागि अनुमति पत्र प्राप्त हुन्छ । त्यसको सट्टा अब घरमै बसेर सिंगल विण्डो मार्फत आवेदन दिन सकिन्छ । सम्बन्धीत कार्यालयले भेरिफाई गरेर स्वीकृति गरिएको वा अस्विकार गरिएको हो भन्ने सूचना दिन्छ । त्यस्तो सूचना अटोमेटिक रुपले आवेदकको सिस्टम र भन्सारको सिस्टमा आउँछ । जब आयात कर्ताले त्यस्तो समान ल्याएर भन्सारमा घोषणा गर्छ, त्यो चिठ्ठी समान र एम्जिम कोडसँग आउँछ ।  त्यस्तो अनुमति पत्र वाला चिठ्ठी सक्कली हो की नक्कली भन्ने दुविधा रहन्न । अहिले हामी तीन वटा विभागबाट कार्यान्वयन थाल्दैछौं । त्यस्ता ४० वटा विभागमार्फत यो लागु हुन्छ । यो प्रणालीले मान्छेहरु सबै तिर कागज बोकर हिड्ने, नमस्ते गर्दै हिड्ने, ढोका ढोका हिड्ने कुराको अन्त्य हुन्छ । 

व्यक्तिहरुले नै हेरेर कम्प्युटरबाट भेरिफाई गर्नुपर्छ वा प्रणालीले नै त्यस्तो काम गर्छ ? 
मान्छेहरुले नै भेरिफाई गर्ने हो । तर त्यसमा कागज बोकेर दौडनु पर्दैन् । घरमै बसेर कम्प्युटरबाट फाइल अपलोड गर्ने हो, कम्प्युटरबाटै स्वीकार गर्ने हो । अहिले भन्सारमा आसीकोडा वर्लर्ड मार्फत काम भैरहेको छ । यो त्यो भन्दा आधुनिक प्रणाली हो । मेरो २०३३।३४ साल तिरका महानिर्देशकज्यूसँग भेट भएको थियो । त्यतिबेला १४ सय कर्मचारीबाट भन्सार प्रशासन सञ्चालन हुन्थ्यो रे ।

अहिले १२ सय कर्मचारीबाट भन्सार चलिरहेको छ । त्यसमध्ये पनि ८ देखि ९ सय कर्मचारीले मात्रै कोर भन्सारको काम गर्छन् । त्यतिबेला थोरै भन्सार र थोरै कारोबारका लागि पनि त्यति धेरै कर्मचारी चाहिन्थ्यो । अहिले यत्रो भन्सार नेटवर्क पनि १२ सय कर्मचारीबाट सञ्चालन भैरहेको छ । अर्थात भन्सार कर्मचारीहरुको इफिसियन्सी कति मात्रामा बढेको रहेछ भन्ने कुरा यसैबाट प्रमाणित हुन्छ । 

यसको अर्थ अब भन्सार अत्याधुनिक भै सक्यो ?
त्यति मात्रै होइन, अब भन्सार क्यासलेस, फेसलेस र कन्ट्याकलेस तथा पेपरलेस पनि भैसकेको छ ।

सिंगल विण्डो आएपछि कति प्रतिशत काममा सहजीकरण हुने रहेछ ?
हामी तीन वटा विभागबाट सिंगल विण्डोको कार्यान्वयन आरम्भ गर्दैछौं । त्यसले आयातको ८२.८३ प्रतिशत हिस्सा ओगट्ने रहेछ । खाद्यान्न, फलफुल र तरकारीको आयात एक खर्ब भन्दा बढिको हुने गरेको देखिन्छ । त्यसका लागि अब सिंगल विण्डोले काम गर्छ । कृषि मन्त्रालयका तीन वटा विभागहरुमा यसको कार्यान्वयन सुरु गरेका हौं । त्यसमा पशुसेवा विभाग, कृषि विभाग र विषादी परिक्षण विभागबाट यसको परिक्षण आरम्भ गरिएको हो । चालु आर्थिक वर्षभित्रै अन्य ४० वटा सरकारी निकायहरुले सिंगल विण्डोमा आवद्ध गराउने योजना अनुसार काम अघि बढेको छ । 

सिंगल विण्डो प्रणालीको लागत कति पर्यो ? रकम कसले उपलब्ध गरायो ?
यसको लागत करिब ६० करोड रुपैयाँ परेको छ । विश्व बैंकले मुग्लिन नारायणघाट सडक विस्तार गर्ने परियोजना ऋणमा उपलब्ध गराएको थियो । त्यो सम्झौतासँगै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र मार्फत ट्रेड पोर्टल बनाउने र सिंगल विण्डो बनाउने परियोजना भने अनुदानमा उपलब्ध गराएको हो । यो प्रणाली विकासका लागि युरोपियन कम्पनी वेड हण्ट नामको कम्पनीलाई जिम्मा दियौं । उनीहरुले विकास गरेको प्रणाली ठिक छ की छैन भनेर स्वीजरल्याण्डको एसजीएस भन्ने कम्पनीले निरिक्षण र सुपरिवेक्षण गरिरहेको छ । 

सञ्चालनमा आईसकेपछि प्रणालीको रेखदेख र उपयोगको काम कसरी अघि बढ्छ ? 
विकासकर्ताहरुले नै आगामी पाँच वर्षसम्म सपोर्ट गरिरहन्छन् । त्यसपछि हामी आफ्नो जनशक्ति तयार पारेर यसको सम्पूर्ण काम गर्नेछौं । प्रयोगकर्ताहरुका हकमा आयात कर्ता र निर्यातकर्ताहरुलाई हामी तालिम दिन्छौं । विभागहरुलाई सफ्टवेयर र हार्डवेयर दिन्छौं । आवश्यक जनशक्तिलाई तालिम पनि दिन्छौं । अहिले कृषि मन्त्रालय अन्तर्गतका तीन वटै विभागहरुका काम हातले लेखेर गरिँदै आएको रहेछ । कम्प्युटर  प्रणाली नै रहेनछ । अब हामीले जस्तै डिजिटलाइज्ड सर्भिस प्रदान गर्नेछन् । यो सेवा भनेको ती तीनै विभागहरुको सेवा प्रवाहमा कायापलट गर्ने अस्त्र हो । खाद्यान्नजन्य वस्तुहरुको आयात निर्यातलाई व्यवस्थित बनाउनका लागि हामीले कृषि मन्त्रालय अन्तर्गतका तीन विभागलाई पहिलो चरणमा रोजेका हौं । जुन जुन विभागहरुले आयात निर्यातका लागि लाइसेन्स जारी गर्छन, तिनलाई यसमा समेटिएको हो । 

सबै आयात निर्यातलाई यहि प्रणालीमा ल्याउन थप के गर्नु पर्छ ?
कतिपय आयात निर्यातमा अहिले पनि कागजको आवश्यकता पर्दैन् । हामीले चाहेको कागजातको प्रयोग घटाउने र समय बचत गर्ने हो । त्यससँगै पारदर्शिता पनि कायम होस भन्ने पनि हो । सवारी साधनहरुको आयातमा बाणिज्य विभाग जोडिने भएकाले त्यसलाई केहि महिनाभित्रै सिंगल विण्डो प्रणालीमा जोड्छौं । 

यो प्रणाली कार्यान्वयनमा ल्याउँदासम्म कतिको हण्डर खानु भयो ? कति झण्झट व्यहोर्नु भयो ? 
वास्तवमा यो प्रणाली कार्यान्वयनको समय अवधी समाप्त भैसकेको थियो । बाणिज्य सचिव बैकुण्ठ अर्यातल सर र म भएर प्रस्ताव गरेर मन्त्रिपरिषदबाट पास गराएर यसको कार्यान्वयन गराएका हौं । परियोजनाको म्याद पनि सकिएको र सुपरिवेक्षण गर्ने स्वीजरल्याण्डको कम्पनी ल्याउन पनि नसकिएको अवस्था रहेछ । हामीले बिशेष निर्णय गरेर मन्त्रिपरिषद मार्फत यो परियोजनालाई पुनः अघि बढाएका हौं । यो मरेको परियोजना थियो, हामीले बचाएर कार्यान्वयनमा ल्यायौं । सन २०१३ मा कार्यान्वयनमा आउनुपर्ने परियोजना हामीले बडो मेहनत गरेर बचाउँदै अहिले कार्यान्वयनमा ल्याएका हौं । यसले नेपालको समग्र वैदेशिक व्यापारमै नयाँ युगको आरम्भ गर्नेछ ।