नेपाल सहकारी बैंक दर्ताका लागि विभागमा फाइल पेश, राष्ट्रिय सहकारी बैंकलाई चुनौति

Advertisement

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक दर्ताका लागि आइतबार सहकारी विभागमा फाइल पेश भएको छ । फाइल पेश गर्ने क्रममा प्रस्तावित बैंकका तदर्थ समितिका सदस्यहरु, नेपाली काँग्रेसको सहभागी विभाग प्रमुख आनन्द ढुँगाना, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल विभाग पुगेका थिए । 

यसअघि सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंक कछुवा गतिमा सञ्चालन भइरहेको बेला नयाँ सहकारी बैंक दर्ता हुन लागेको हो । राष्ट्रिय सहकारी बैंकले प्रभावकारी काम गर्न नसकेको र राजनीतिक प्रभावबाट प्रभावित भएको भन्दै पाँच सयभन्दा बढि सहकारी संस्थाहरु मिलेर नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अघि बढाएका हुन् । 

Advertisement

फाइल बुझाउने कार्यक्रममा बोल्दै विभागका रजिष्ट्रार टोकराज पाण्डेले बैंक दर्ता प्रक्रियाका लागि आज फाइल मात्रै दर्ता गरिएको र यसको अध्ययन गरी अपुग कागजाज मगाएर दर्ता गरिने बताए । उनले नयाँ सहकारी बैंक दर्ता गर्न नयाँ सहकारी ऐनले बाधा नपर्ने भएकाले नेपाल सहकारी बैंक दर्ता हुने पनि बताए । 

नेपाल सहकारी बैंकको तदर्थ समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले बैंक दर्ता गर्न ५६९ सहकारी संस्थाको फाइल रजिष्ट्रार पाण्डेलाई हस्तान्तरण गरेका थिए । बैक दर्ताको लागि ५०१ फाइल भए पुग्छ । बैंक स्थापना गर्न तीन अर्ब रुपियाँ पुँजी आवश्यक पर्नेमा आठ अर्ब रुपियाँ पुँजी तयार भएको अध्यक्ष भण्डारीले जानकारी दिए । 

उनले आजबाट विधिवत् रुपमा नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अघि बढेको जानकारी दिँदै दर्ता भएसँगै कारोबार सुरु गरिने बताए । सहकारी बैंक दर्ताका लागि राष्ट्रिय सहकारी महासंघले सहमति दिनुपर्नेछ भने बैंक सञ्चालनको स्वीकृति नेपाल राष्ट्र बैंकले दिनेछ । 

माघ १७ गते काठमाडौंमा भएको भेलाले नेपाल सहकारी बैंक स्थापना गर्ने निर्णय गर्दै भण्डारीको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति बनाएको थियो । यो बैंक दर्ता भएसँगै राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिने छ । एउटै मात्रै सहकारी बैंक भएको र त्यसमा पनि राजनीति हाबी भएकाले उक्त बैंकले काम गर्न सकेको थिएन् । 

Advertisement

Advertisement