पुतलीबजारमा सहकारी बैंकको शाखा बिस्तार, २० करोड वचत संकलन

Advertisement

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६८ औं शाखा बिहीवारदेखि स्याङ्जाको पुतलीबजारमा शुरु भएको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्री र सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले समृद्ध नेपालनिर्माणका लागि सहकारी अभियानको योगदान बढाउनु पर्नेमा जोड दिएकी थिइन् । सहकारीमा रहेको पूँजीलाई उत्पादन क्षेत्रमा लगाउनका लागि राष्ट्रिय सहकारी बैंकले थपप्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिंदै उनले त्यसमा स्थानीयतहको सक्रिय सहभागिता रहने प्रतिवद्धता व्यक्त गरे ।      

Advertisement

कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको अवधारणा अनुसार सहकारीहरुले काम गर्ने हो भने गरिवीनिवारणका लागि सहकारीको भूमिका सबैभन्दा प्रभावकारी हुने धारणा राखे । सहकारीका नाममा गलत गर्नेहरुलाई समयमै पाखा लगाउनका लागि अभियानका असल अभियन्ताहरुको सक्रियता आवश्यक रहेको उनको भनाइ थियो । सहकारी क्षेत्र ७३ लाखजनता आवद्ध भएको प्रभावकारी क्षेत्र भएकाले यसलाई उत्पादनमा लगाउनका लागि सहकार्यमा जोड दिए ।      

कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मपति पौडेल, बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठले सहकारीहरुको बैंक सहकारी बैंकको शाखा पुतलीबजारमा शुरु भएकाले सबै सहकारी संघ संस्थाहरुलाई सहकारी बैंकमा कारोबार गर्न आव्हान गरेका थिए ।          

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको विगत, वर्तमान र आगामी योजनाकाबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमका सहभागीहरुले सहकारी बैंकमार्फत सहकारीहरुको प्रवद्र्धनमा सबैको ऐक्यवद्धतामा जोड दिएका थिए ।  

कार्यक्रम बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र वालिङ शाखा समन्वय उपसमितिका संयोजक पूण्यप्रसाद अर्यालको स्वागतमा सम्पन्न भएको थियो ।

स्याङ्जाका पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका, विरुवागाउँपालिका, हरिनास गाउँपालिकालाई केन्द्रीत गरी शाखा सञ्चालन गरिएको र शाखामा उद्घाटनको दिनसम्म २० करोड वचत संकलन भएको शाखा प्रमुख पुष्पा क्षेत्रीले जानकारी दिइन् ।  
 

Advertisement

Advertisement