आफ्नै राजीनामा स्वीकृत हुँदा किन खुशी भए नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारी ?

म खासै योग्य व्यक्ति थिइन् । राष्ट्र बैंकमा काम गर्दाको केही छापले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मलाई नेपाल बैंकमा गई सञ्चालक बन्न र आवश्यक परे अध्यक्ष भई सघाउन भन्नु भयो । मैले नाइँ भनिन । त्यहाँ गएर म जाबोले के पो गर्न सक्थेँ र ? तैपनि कनिकुथी दुई वर्ष बिताएँ । दुईजना प्रमुख कार्यकारी अधिकृतसित काम गरेँ । अपवाद बाहेक सञ्चालक साथीहरु सहयोगी हुनुहुन्थ्यो । आफैँ खास योग्य रहेनछु । सरकारले बाँड्न स्वीकृति दिएको लाभांश बाँड्न सक्ने अवस्था नदेखेपछि नैतिकताको आधारमा राजीनामा पनि दिएँ । त्यहाँ मैले गरेको भन्दा नगरेको कामको सूची लामो छ । तर ऐतिहासिक र गौरवमय संस्थामा दुई वर्ष भए पनि जोडिन पाएकोमा आफूलाई चाहिँ गर्व छ । विगत दुई वर्षमा मैले सकेसम्म मितव्ययिता, पारदर्शिता र पद्धति अनुरुप कार्य गर्न प्रयत्न गरेँ । त्यहाँ आर्जन गरेको अनुभव तथा आफ्नो कार्यशैली बैंक तथा वित्तीय संस्थाका सञ्चालक साथीहरुलाई काम लाग्ने अपेक्षा सहित केही बुँदा प्रस्तुत गरेको छु । 

१. बैंकको कामको सिलसिलामा बाहिर जाँदा मितव्ययितालाई ध्यान दिएँ । त्यसक्रममा मैले  बैंकबाट दैनिक तथा भ्रमण खर्च लिएँ लिइन त्यो बैंकको रेकर्डमा छ । 

२. म बैठकको अलावा काम परेर बैंक जाँदा कम्पनी सचिव वा सचिवालयलाई सूचित नगरी गइन । कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृतसित बाहेक अरुसित सम्पर्क गरिन । सञ्चालक समिति सचिवालयका कर्मचारीलाई आफ्नो व्यक्तिगत काममा एक दिन पनि लगाइन ।

३. युनियनका साथीभाइलाई आवश्यक मात्र समय दिएँ । युनियनका पदाधिकारीसित एक्ला एक्लै कुनै भेट्न समय मिलाइन, विशेष सम्बन्ध बनाइन । 

४. औसतमा छ सात विषय नभई बैठक सञ्चालन गरिन । आपतमा बाहेक सर्कुलेसनबाट बैठक गरी पछि सही गर्ने काम गरिन । यसैकारण बैंठकको संख्या तुलनात्मक रुपमा घट्न सक्यो । आफ्नो कारणले एक दिन पनि बैठक विलम्व गरिन । 

५. आफ्नो स्वार्थ अनुरुप सामाजिक उत्तरदायित्वको रकम उपयोग गर्न प्रस्ताव गरिन । 

६. व्यवस्थापनलाई कर्जा लगानी गर्न अधिकार दिँदा वा सामाजिक उत्तरदायित्व वहन गर्दा सानो चित्त गरिन ।

७. बैठकका विषयमा छलफल हुँदा सकेसम्म सबै सञ्चालकको धारणालाई स्वागत गर्न अवरोध हुन्छ भनेर एजेण्डामा एक्लै बकबास गर्ने गरिन ।

८. माइन्युट फाइनल गर्ने जिम्मा अरुलाई सुम्पिन, आफैँले लिएँ । निर्णयको अक्षर अक्षरप्रति आफू जिम्मेबार बनेँ ।

९. महत्वपूर्ण विषयमा सरकारलाई अवगत गराएर निर्णयमा पुगेँ । सरकारसित कुराकानी गर्दा सकेसम्म प्रमुख कार्यकारी अधिकृत र वहालवाला सरकारी सेवाका सञ्चालक समेतलाई सहभागी गराएँ । एक्लै सम्पर्क राखिन । सदैव व्यस्त रहनु पर्ने मन्त्रीज्यूको निवासमा गई उहाँहरुको अमूल्य समय नष्ट गरिन । 

१०. चियाको तलतल लागी अतिशय व्यस्त सरकारी उच्च ओहदाका पदाधिकारीको च्याम्बरमा भीड थप्न गइन ।

११. प्रमुख कार्यकारी अधिकृत भर्ना गर्न अपारदर्शी विधि अवलम्वन गरिन । मुलकका उम्दा व्यक्तित्वलाई नै सो कामको जिम्मा दिएँ ।

१२. वार्षिक साधारण सभाले पारित गरी राष्ट्र बैंकले स्वीकृत गरेको सञ्चालकको बैठक भत्ता लगायतका निर्णय कार्यान्वयन गर्दा सरकारलाई चित्त दुख्ने भएको हुँदा त्यो नलिन सञ्चालकहरुलाई सहमत गराएँ ।

१३. व्यवस्थापनलाई सहयोग गर्ने बाहेक कुनै पनि काममा हस्तक्षेप गरिन । सरुवा, बढुवा वा पदस्थापनमा कुनै हस्तक्षेप गरिन । सुशासन कायम गर्न र दण्डहीनता तोड्न व्यवस्थापनलाई प्रोत्साहित गरेँ ।

१४. आफ्नो समयलाई बैंकको पुरानो माइन्युट पढी आधिकारिक इतिहास थाहा पाउन उपयोग गरेँ । सो क्रममा बैंकको उत्थानमा जुद्ध शंशेर, सरदार गुञ्जमान सिंह, विजय शंशेर जवरा, हिमालय शंशेर जवरा, भीम बहादुर पाण्डे, आनन्दभक्त राजभण्डारी, म्याक एलिष्टर आदिको योगदानको उज्यालोबाट केही मात्रामा स्पर्शित भएँ । त्यस अध्ययनबाट नेपाल बैंकको आरम्भिक दुई दशकको इतिहास लेख्ने रहर उमारेँ । त्यो पूरा गर्छु पनि होला । 

१५. हुकुमीतन्त्रमा पनि कानुन बनाई त्यसका प्रावधान अनुरुप साधारणसभा मार्फत् वासलात, नाफा नोक्सान तथा नगद प्रवाहको स्वीकृति, लाभांश वितरण, लेखा परीक्षक नियुक्ति लगायतका विषय निर्णय गर्ने परम्परा बसालेको, सरकारले सिधा हस्तक्षेप गर्ने नगरेको लगायतका सुन्दर पक्षबारे अवगत हुन पाएँ । 

१६. आव २०७६।७७ सम्मको मुनाफाबाट शेयरधनिलाई लाभांश वितरण गर्ने विषयमा नियमनकारी निकायको स्वीकृतिको कानुनी महत्व हुने नहुने विषय, प्रस्तावितभन्दा कम लाभांशको स्वीकृति प्रदान गर्ने सरकारको निर्णय पालना गर्दा हुने व्यावहारिक कठिनाइ तथा अध्यक्षको हैसियतले सरकारी निर्णय लागू गर्ने क्रममा देखिएको नैतिक संकटको कारण माघ ५ गते माननीय मन्त्रीज्यूसमक्ष दिएको राजीनामा माघ २७ गते स्वीकृत भई आउँदा म साँच्चै खुशी भएँ । संयोगः त्यो सुन्नु करिव दुई घण्टा अघि जति म जीवनमा कहिल्यै दुःखी भएको थिइन । 

१७. आफ्नो पदबाट राजीनामा दिएपछि म कामबाट भागिन, निरास वा हतोत्साहित भइन । त्यो कुरा सहकर्मी सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई पनि भनिन । राजीनामा स्वीकृत हुने अघिल्लो दिनसम्म पनि उत्साहित र जिम्मेबार भई बैठकमा भाग लिइरहेँ । 

१८. संकटमा बैंकलाई पुँजीकरण गर्ने सरकार तथा निजी क्षेत्रका लगानीकर्ताप्रति मेरो अपार श्रद्धा छ । प्रिमियममा एफपिओ जारी गर्ने अक्कल, अपर्याप्त पुँजीको कारण टाक्सिएको बैंकलाई प्रिमियममा शेयर किनी प्राणदान गर्ने लगानीकर्तालाई म लाख लाख सलाम गर्छु । 

१९. मुलुकको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने सरकारको नीति आफ्ना निर्णय र क्रियाकलाप मार्फत मुखरित हुँदै जाओस् । अग्रगमन, उदारता र सुशासन व्यवहारबाटै प्रकट हुन सकोस् । हामी चन्दा, युनियन गठन वा आफन्तको जागिरका लागि मात्र निजी क्षेत्रलाई सम्झिने रोगबाट क्रमशः मुक्त हुँदै जान आवश्यक देख्छु ।

२०. कोभिड प्रकोप सिर्जित आर्थिक मन्दीको सकसमा बैकले आफ्ना ग्राहकलाई सकेको छुट र लचकता मार्फत् केही मलम लगायो । तथापि लामो समय लाभांश नपाउने तथा प्रिमियममा शेयर किनी प्राणदान गर्ने लगानीकर्तालाई प्रदान गरिने लाभांश उपर किचलो हुन गयो । त्यस वातावरणलाई सहजीकरण गर्न नसकेकोप्रति म हुनसम्म लज्जित छु । मेरो राजीनामा त्यही लज्जा ढाक्ने पातलो पर्दा हो । यस विषयलाई मैले आफैँ अग्रसर भई सञ्चार माध्यममा बाहिर ल्याइन । कसैसित सिँगौरी खेल्न मेरो सिङ छैन, समय र मन पनि छैन । म द्वन्द्वको होइन सहकार्यकै पुजारी हुँ । 

२१. नेपाल बैंक सरकार र निजी क्षेत्र सहकार्य गर्ने उपयुक्त थलो थियो । राजनीतिक व्यक्तिले सबै विषय हेर्न सक्दैनन् । ब्युरोक्रेसीले नै यसलाई सहजता प्रदान गर्नु पर्छ । अन्यथा विकासको वातावरण धमिलिन्छ । धमिलो वातावरणमा तारा खोज्दा जूनकिरी मात्र हात पर्छ ।

२२. नेपाल बैंकको भविष्य उज्जवल छ । बैंक व्यावसायिक हुँदै गएको छ । सुशासनको पद्धति स्थापित छ । आपसी सहकार्य र छलफल, मूल्य मान्यता सहित कर्मचारीहरुको कामको यथोचित मेन्टरिङ, सेवाको गुणस्तर सुधार, सम्पत्तिको अधिकतम उपयोग एवम् बजार समक्ष नयाँ नयाँ प्रोडक्ट लिएर जान नलजाउने हो भने बैंक सम्मानित स्तरमा पुनस्र्थापित हुनेछ । बैंकलाई मेरो सहयोग रहिरहने छ ।

(नेपाल बैंक सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृति भएपछि अधिकारीले शुक्रबार सामाजिक सञ्जालमा व्यक्त गरेको प्रतिक्रिया ।)