वैदेशिक रोजगारमा गएका श्रमिकले जम्मा गरेको रकम उनीहरुको हितमा खर्च गरियोस्ः एनआरएन

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुले जम्मा गरेको रकम उनीहरुको हितमा खर्च गर्न सरकारसँग माग गरेको छ । श्रमिकहरुले वैदेशिक रोजगार बोर्डमा उक्त रकम जम्मा गर्दै आएका छन् । 

संघका प्रतिनिधिहरुले बुधबार गौरिशंकर चौधरीलाई भेटी वैदेशिक रोजगारीमा गएकाहरुले जम्मा गरेको रकम उनीहरुको बृहत्तर हितका लागि खर्च गर्न माग गरेका हुन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले रोजगार सम्मेलन गर्ने विषयमा पनि मन्त्री चौधरीसँग छलफल गरेको छ । 

Advertisement

त्यस्तै, संघले रोजगारबाट प्राप्त विप्रेषणबाट वित्तिय संस्थाहरुले प्राप्त गर्ने रकममध्ये एक पैसा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्ने प्रस्ताव पनि गरेको छ । पन्तले वैदेशिक रोगारीमा गएकाहरुलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्न संघले अघि सारेको न्यूनत्तम रु १० अर्बको सामूहिक लगानीको र श्रमिक बैंकको अवधारणाबारे पनि बताएका थिए । 

वैदेशिक रोजगारीमा गएकाहरुले भोग्दै आएका समस्याबारे कुरा गर्न संघका पदाधिकारीहरु चौधरीकोमा पुगेका थिए । उनीहरुले कोभिड–१९ का कारण नेपालमा झण्डै दुई लाख श्रमिकहरु फिर्ता आएका र उनीहरुलाई रोजगारी दिन प्रस्तावित श्रमिक सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सामाजिक सुरक्षाको अवधारणा समेत कार्यान्वयनमा ल्याउन उनीहरुको सुझाव छ । 

सो अवसरमा मन्त्री चौधरीले वैदेशिक रोजगारका क्षेत्रमा संघका सुझावहरुका लागि अनुरोध गरे । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सहयोग गर्न रकामान्तर गर्ने प्रक्रिया झन्झटिलो रहेकोले यसलाई सरलकृत गर्न मन्त्रालय लागेको बताए । उनले संघले अघि सारेको वैदेशिक रोजगार सम्मेलनको आयोजना गर्ने बिषयमा मन्त्रालय गम्भीर रहेको र छिटै सबै सरोकारवालाहरु बीच छलफल गर्ने बताए । 

Advertisement

Advertisement