द्रुत मार्गको सुरुङ र पुल निर्माण गर्न बोलपत्र आव्हान, निर्माण सक्न अझै तीन बर्ष लाग्ने

Advertisement

काठमाडौं । काठमाडौँ–तराई द्रुत मार्गको सुरुङ मार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि प्रक्रिया सुरु भएको छ । द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि बोलपत्र आह्वान गरिएको द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

द्रुत मार्ग आयोजनाको प्रमुख संरचनाका रूपमा रहेका सुरुङ मार्गहरूको निर्माण अबको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता पौडेलले बताए । उनका अनुसार द्रुत मार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाइब्रिज निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरिएको छ । पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेवडाँडा खण्ड हो ।

Advertisement

यस खण्डमा निर्माण गरिने सुरुङ मार्ग र हाइब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर रहेको छ । त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङमार्ग तथा हाइब्रिज निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । यस प्याकेजअन्तर्गत कुल १.४०० किलोमिटर सुरुङमार्ग र हाइब्रिज निर्माण गरिने छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement