युनाइटेड एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट बच्यो

Advertisement

डेन्भर (एएफपी) । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् ।     
     
विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए । अधिकारीहरुले विमानका चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसँग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएका थिए ।     
     
विमानभित्रका यात्रुले खिचेको तस्वीर एवं भिडियोमा बोइङ ७७७–२०० को उक्त विमानको दायाँतर्फको इन्जिनमा ठूलै आगोको मुस्लो देखिएको थियो । आगोका कारण इन्जिनको बाहिरी कभर खुस्किएर उछिट्टिएको थियो । विमानमा २३१ जना यात्रु र १० जना चालक दलका सदस्य थिए ।     
     
विमानमा सवार वा जमिनका कुनैपनि व्यक्तिलाई चोटपटक नलागेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार यात्रु डेभिड डेलुसियाले डेन्भर पोस्टलाई प्रतिक्रिया दिँदै आफूहरुलाई एक पटक बाँच्छु भनेर आशा नै नभएको बताएका छन् ।      
     
युनाइटेड एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दैै डेन्भरबाट होनोलुलुतर्फ उडेको विमानमा इन्जिनमा समस्या देखिएको तर विमानलाई सकुशल डेन्भर फर्काइएको जनाएको छ । विमानका पाइलटले “विमानको इन्जिनमा आगो लागेकाले तत्कालै फर्कन अनुमति पाऔं” भन्दै टावरसँग सम्पर्क गरेका थिए ।   
 

Advertisement

Advertisement

Advertisement