धोबीखोला करिडोर १८ वर्षमा पनि पूरा भएन्

Advertisement

काठमाडौं । १८ वर्षअघि सुरु गरिएको धोबीखोला करिडोर सुधार आयोजना अहिलेसम्म पनि निर्माण पूरा भएको छैन । काठमाडौं उपत्यकाको भित्री चक्रपथ विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि धोबीखोला करिडोरको निर्माण भइरहेको हो । करिडोर निर्माणमा अहिलेसम्म दुई अर्ब ८९ करोड ९० लाख रुपियाँ खर्च भइसकेको छ । तेस्रो चरणको काम २०७९ जेठ मसान्तसम्म सक्नुपर्ने भए पनि बजेट अभावका कारण आगामी वैशाखदेखि निर्माण कार्य रोकिने आयोजनाले जनाएको छ ।

‘अब एक–दुई महिनालाई पुग्ने बजेट मात्र हामीसँग छ । त्यसपछि बजेट अभाव हुन्छ । काम नरोक्नु, मिलाएर गर्नु भनेका छौँ । पुस–माघमा जाडोका कारण काम गर्न केही गाह्रो हुन्थ्यो । अब मौसम पनि अनुकूल हुँदै गएको छ,’ उपत्यका विकास प्राधिकरणअन्तर्गत काठमाडौं जिल्ला आयुक्त दिनेशकृष्ण पोतेले भने, ‘अहिलेसम्म आयोजनाका काम त भइरहेका छन् । बजेट नै अभाव हुन थालेपछि ठेकेदारलाई भुक्तानी दिन समस्या हुन्छ, त्यसैले काम अगाडि बढ्न सक्छ भनेर भन्न सकिन्न ।’ 

Advertisement

आर्थिक वर्ष २०७७–७८ का लागि आयोजनाले २५ करोड ४० लाख बजेट पाएको थियो । जसमध्ये हालसम्म करिब १८ करोड रुपियाँ खर्च गरिसकेको छ । अझै १० करोडजति अभाव हुने आयोजनाले जनाएको छ । आयोजनाले यो वर्ष ९५ प्रतिशत काम सक्ने लक्ष्य राखे पनि बजेट अभावका कारण काममा प्रभाव पर्ने देखिएको छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement