मेलम्ची सफल भए याङ्ग्री र लार्केबाट पनि पानी ल्याउने प्रक्रिया सुरु हुने

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दुई महिनाको परीक्षण अवधि सफल भएमा २०७८ वैशाख महिनामै १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । आयोजनाले पहिलो चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरिसकेको छ । हेडवक्र्स कार्य निर्माण पनि अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।

हाललाई हेडवक्र्स स्थलभन्दा एक सय मिटरमाथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ । अस्थायी व्यवस्थाअन्तर्गत पूर्ण रूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ । त्यसले उपत्यकाको खानेपानी समस्या निवारणमा महत्वपूर्ण सहयोग हुने आयोजनाले बताएको छ । 

Advertisement

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग भए पनि हाललाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड लिटर पानी मात्रै वितरण गर्दै आएको छ । पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाव क्षेत्रहरूसँगै बागमती नदीमा कुनै पनि वेला पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका खोलानाला र नदी किनारमा जानुपर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आयोजनाले आग्रह गरेको छ ।

पहिलो चरणको यो परीक्षण सफल भएमा याङ्ग्री र लार्केबाट पनि पानी ल्याउने काम सुरु हुनेछ । याङ्ग्री र लार्केबाट पानी ल्याउन डिपिआर तयारी भइसकेको आयोजनाले जनाएको छ । 

Advertisement

Advertisement