बकैया साहित्य महोत्सवको तयारी पूरा, ८ जना स्रष्टालाई सम्मान गरिंदै

Advertisement

काठमाडौँ । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो बकैया साहित्य महोत्सवको तयारी पूरा भएको छ । बकैया–५ श्रीपुर स्थित प्रभात माविको प्राङ्गणमा हुने कार्यक्रमको तयारी पूरा भएको झरना साहित्यिक परिवारका सचिव मसान उपासकले जानकारी दिए । 

पहिलो दिन शुक्रबार बालबालिका विशेष रचना वाचन, बहसमुलक कार्यक्रम र शिक्षक प्रतिनिधिको रचना बाचन हुनेछ । ‘‘पठन संस्कृतिको एवम् विद्यार्थीको सिर्जनशिलता विकासमा विद्यालयको भूमिका’विषयमा पहिलो दिन बहस हुने छ । बालबालिकाहरुमा रहेको साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले पहिलो दिन बालबालिका विशेष रचना वाचन हुने सचिव उपासकले बताए । 

Advertisement

दोश्रो दिन स्रष्टा सम्मान सहित युवा पुस्ताको रचना वाचन कार्यक्रम हुने छ । ‘हामीले यो वर्ष अघिल्लो वर्ष भन्दा भिन्न कार्यक्रमहरुसहित महोत्सवको आयोजना गरेका छौं,’ संस्थाका अध्यक्ष दीपक गौतमले भने, ‘यो पटक विशेष गरी बालसाहित्य केन्द्रित महोत्सव हुनेछ । उनीहरुको प्रतिभा हामी सुन्छौं । दोश्रो दिन स्रष्टा सम्मान सहित विविध कार्यक्रम हुनेछ ।’

बकैया साहित्य महोत्सवमा शनिबार विभिन्न ८ जना स्रष्टाहरुलाई सम्मान गरिने छ । यो वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान सुनसरीका अग्रज साहित्यकार प्रा.डा. भीम खतिवडालाई प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ रुपियाँको यो पुरस्कार नुरप्रसाद गौतमले स्थापना गरेका हुन् । यस्तै, विनोद सुवेदीले स्थापना गरेको ११ हजार १ सय ११ रुपियाँ राशीको बाबुलाल–भोजमाया प्रतिभा सम्मान मकवानपुरका अग्रज कवि आरआर चौलागाईँलाई प्रदान गरिँदैछ । 

त्यसैगरी रमेशमोहन अधिकारीले स्थापना गरेको ११ हजार १ सय ११ रुपियाँ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिँदैछ भने अर्पण पराजुली र दर्पण पराजुलीले स्थापना गरेको  ५ हजार ५ सय ५५ रुपियाँको राशीको खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिने अध्यक्ष गौतमले जानकारी दिए ।

यस्तै बकैया–४ का वडा अध्यक्ष राजन दंगालले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपियाँ राशीको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी साहित्यकार रुकु कार्कीलाई प्रदान गरिँदै छ । तुलसी गिरीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपियाँ राशीको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान बकैया–४ का मनहरी लामिछानेलाई प्रदान गरिँदै छ । 

यसैगरी बकैया गाउँपालिकाले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपियाँ राशीको झरना–बकैया पत्रकारिता पुरस्कार खेम बोलखेलाई प्रदान गरिँदैछ भने चन्द्रकुमार राईले स्थापना गरेको २ हजार ५ सय ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–बकैया–४ की दीपशिखा घिमिरेलाई प्रदान गरिने भएको छ ।

यस्तै, सञ्जीवनी बुटी साहित्य सेवा सम्मान-२०७७ मकवानपुर बकैयाका मनहरी लामिछानेलाई प्रदान गरिने सचिव उपासकले बताए । ५ हजार ५ सय ५५ रुपैया राशीको उक्त पुरस्कारका संस्थापक तुलसी गिरी हुन् ।

यस्तै, स्थानीय प्रतिभाको रुपमा बासुरी बादक गोपाल घतानीलाई पनि सम्मान गरिने संस्थाले जनाएको छ । 

Advertisement

Advertisement