चार सहकारी एकीकरण भएर बन्यो ‘हाम्रो चित्रवन’, कूल पूँजी रु. १ अर्ब २४ करोड

Advertisement

चितवन । जिल्लाका चार सहकारी एकीकरण भएका छन् । दिपज्योति अभिवृद्धि, चित्रवन, हाम्रो माइती र मोडल बचत तथा ऋण सहकारी संस्था मिलेर हाम्रो चित्रवन नामक संस्था बनेको हो । भरतपुर महानगरपालिका–११ को दिपज्योति अभिवृद्धि, वडा नं ७ को चित्रवन, वडा नं १२ को हाम्रो माइती र वडा नं १० को मोडल एकीकरण भएर बनेको हाम्रो चित्रवनको भरतपुर महानगर र रत्ननगर नगरपालिका कार्यक्षेत्र भएको छ । यसैगरी इच्छाकामना गाउँपालिका–७ समेत कार्यक्षेत्रमा परेको छ । 

हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश पौडेलका अनुसार चार  सहकारी एकीकरण भएसँगै यसको सदस्य सङ्ख्या १० हजार ४४ पुगेको छ । सदस्य दिनहुँ बढ्ने भन्दै उनले माघ मसान्तमा दिपज्योतिको तीन हजार ५६८, चित्रवनको पाँच हजार १५३, हाम्रो माइतीको ८१३ र मोडलको ५११ रहेको जानकारी दिए ।  

Advertisement

चार सहकारी एकीकरणपछि शेयर पूँजी रु १२ करोड, कूल पूँजी रु एक अर्ब २४ करोड पुगेको छ । एकीकरणपछि दिपज्योतिका पूर्व अध्यक्ष तेजेन्द्र खड्काको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति र तीन सदस्यीय लेखासमिति बनेको छ । एकीकरणसँगै दिपज्योतिको केन्द्रीय कार्यालय बनेको छ । संस्थाका अध्यक्ष खड्काले सदस्यको हिसाबले यो सहकारी जिल्लाकै सबैभन्दा ठूलो सहकारी बनेको बताए । अन्य तीनवटा सहकारीलाई यसैमा एकीकरणका लागि अनौपचारिक कुराकानी भइरहेको उनको भनाइ छ । 

पूँजीको हिसाबले पनि अग्रणी संस्थाको रुपमा विकास गर्न आफू लागिरहेको खड्काले बताए । उनले भने, “हामी यस संस्थालाई जिल्लाको अग्रणी संस्थाको रुपमा विकास गर्दैछौँ ।” एक पालिकाभन्दा बढी कार्यक्षेत्र भएको सहकारीको नियमन प्रदेश मन्त्रालयले गर्ने गर्दछ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वाग्मती प्रदेशबाट हाम्रो चित्रवनले एकीकरण अनुमति प्राप्त गरेको हो । खड्काको भनाइमा चैतबाट एकीकृत कारोवार गर्ने गरी काम अघि बढिरहेको छ । 

भरतपुर महानगरपालिकाको शहरी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख रामबाबु पौडेलका अनुसार यहाँका १०  सहकारीले एकीकरणका लागि अनुमति लिएका छन् । जिल्लामा ७५० हाराहारी बचत सहकारी रहेका छन् । महानगर अन्तर्गत ३४९ छन् । तीमध्ये ३३ वटा सहकारीको कार्यक्षेत्र एक भन्दा बढी पालिकामा रहेको छ । पछिल्लो समय सहकारी एकीकरण हुने क्रम बढ्दै गएको उहाँले जानकारी दिनुभयो । जिल्लामा रहेका युनिक र स्वर्णलक्ष्मीको कारोवार रु एक अर्ब भन्दा माथिको भएको पौडेलको भनाइ छ । रासस 

Advertisement

Advertisement