बकैया महोत्सव शुरु, शनिबार स्रष्टा सम्मानसहित युवा पुस्ताको रचना वाचन हुने

Advertisement

हेटौँडा । झरना साहित्यिक परिवारको आयोजनामा दोश्रो बकैया साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । शनिबारसम्म चल्ने महोत्सवका पहिलो दिन बाल साहित्य विशेष कार्यक्रम भएको थियो ।

पहिलो दिन हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका विभिन्न विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरुले आफ्नो रचना वाचन गरेका थिए । हेटौंडाको नवोदय शिशु सदन, जिएस निकेतन, मकवानपुर बाल विद्या सदन, प्रगती मावि, चन्द्रोदय माविका विद्यार्थीहरुको रचना प्रस्तुन भएको थियो भने बकैयाको महेन्द्र मावि, प्रभात मावि, बुद्ध माविलगायतका विद्यार्थीहरुले रचना वाचन गरेका थिए । 

Advertisement

बालबालिकाहरुमा रहेको साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले पहिलो दिन बालबालिका विशेष रचना वाचन भएको अध्यक्ष दीपक गौतमले बताए । झरनाले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत जिल्लाका ६० भन्दा बढी विद्यालयहरुमा बाल साहित्य समिति गठन गरेको छ । उक्त समितिको समन्वयमा साहित्यमा सक्रिय बालबालिकाहरुको प्रस्तुती पहिलो दिन भएको  छ ।

महोत्सवको पहिलो दिन  ‘पठन संस्कृतिको एवम् विद्यार्थीको सिर्जनशिलता विकासमा विद्यालयको भूमिका’ विषयमा पहिलो दिन बहस समेत भएको थियो । बहसमा झरना साहित्यिक परिवारका पूर्व अध्यक्ष उद्धव सापकोटा, पत्रकार सुरेश श्रेष्ठ, प्रभात माविकी नेपाली विषयको शिक्षिका लक्ष्मी जिम्बा र विद्यार्थीहरु नवोदय शिशु सदनका एलिसा पराजुली र कालिदेवी माविका निराजन नेपालको  सहभागिता रहेको थियो । उक्त बहसको सहजीकरण झरनाका उपाध्यक्ष चिरञ्जीवि लामिछानेले सहजीकरण गरेका थिए ।

बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया वडा नम्बर–५ का अध्यक्ष शेरमान घलान, वडा नम्बर ४ का अध्यक्ष राजन दंगाल, साहित्यकारहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

महोत्सव अन्तर्गत दोश्रो दिन शनिबार स्रष्टा सम्मान सहित युवा पुस्ताको रचना वाचन हुने गौतमले बताए । दोश्रो दिन कविता र गजल÷मुक्तकका श्रृङ्खला हुनेछ । विर्खे अन्जान, सुवास खनाल, छवि अनित्य, पुरुषोत्तम आचार्य, यश लामा, मुना अर्याल, राजकुमार लामिछाने, मिनप्रसाद लामिछाने, सविता तिमल्सिना, रुपा थापाले कविता वाचन गर्नेछन् । हरि पौड्याल, धर्मराज स्याङतान, विशाल अधिकारी, सुन्दर कार्की, डिवि बर्तौला, भवानी तिमल्सिना, हिरा शाक्य र बगेकी गंगाले गजल/मुक्तक वाचन गर्नेछन् । यस्तै, महोत्सवमा विभिन्न ८ जना स्रष्टाहरुलाई सम्मान गरिने भएको छ ।

Advertisement

Advertisement