सकियो बकैया साहित्य महोत्सव, कर्पोरेट नेपालका खेम बोलखेसहित ८ जना सर्जक सम्मानित

Advertisement

मकवानपुर । झरना साहित्यिक परिवारको आयोजनामा शुक्रबारदेखि सुरु भएको दोस्रो बकैया साहित्य महोत्सव रचना वाचन तथा श्रष्टा सम्मान गर्दै शनिबार सम्पन्न भएको छ । महोत्सव अन्तर्गत दोस्रो तथा अन्तिम दिन शनिबार स्रष्टा सम्मान सहित युवा पुस्ताको रचना वाचन भएको थियो । 

महोत्सवमा विभिन्न ८ जना स्रष्टाहरुलाई सम्मान गरिएको छ । होमनाथ–टीकामाया प्रतिभा सम्मानबाट सुनसरीका अग्रज साहित्यकार प्राडा भीम उपाध्याय सम्मानित भएका छन् । नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीको यस पुरस्कार नुरप्रसाद गौतमले स्थापना गरेका हुन् । 

Advertisement

यस्तै, विनोद सुवेदीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको बाबुलाल–भोजमाया प्रतिभा सम्मानबाट मकवानपुरका अग्रज कवि आरआर चौलागाईं सम्मानित भएका छन् । त्यस्तै अर्पण पराजुली र दर्पण पराजुलीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिएको छ । 

त्यसैगरी बकैया–४ का वडा अध्यक्ष राजन दंगालले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मानबाट मकवानपुरकी साहित्यकार रुकु कार्की सम्मानित भएकी छन् । तुलसी गिरीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान बकैया–४ का मनहरी लामिछानेलाई प्रदान गरिएको छ । 

यता, बकैया गाउँपालिकाले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया पत्रकारिता पुरस्कारबाट पत्रकार खेम बोलखे पुरस्कृत भएका छन् । लामो समयसम्म हेटौँडामा रहेर पत्रकारिता गरेका बोलखे हाल कर्पोरेट नेपाल डटकमका सहायक सम्पादन हुन् । यस्तै, चन्द्रकुमार राईले स्थापना गरेको २ हजार ५ सय ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कारबाट बकैया–४ की दीपशिखा घिमिरे पुरस्कृत भएकी छन् । स्थानीय प्रतिभाको रुपमा बासुरी बादक गोपाल घतानीलाई सम्मान गरिएको छ ।

शनिबारको श्रृङ्खलामा कविता र गजल÷मुक्तक प्रस्तुत भएका थिए । कार्यक्रममा कवि विर्खे अन्जान, सुवास खनाल, छवि अनित्य, पुरुषोत्तम आचार्य, यश लामा, सन्दिप संग्रौला, मुना अर्याल, राजकुमार लामिछाने, मिनप्रसाद लामिछाने, सविता तिमल्सिना, सन्तराम राई, बलराम घिमिरे र रुपा थापाले कविता वाचन गरेका छन् । त्यसैगरी हरि पौड्याल, धर्मराज स्याङ्तान, विशाल अधिकारी, सुन्दर कार्की, डिवि बर्तौला, भवानी तिमल्सिना, हिरा शाक्य र बगेकी गंगाले गजल÷मुक्तक वाचन गरे । 

झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा सञ्चालन भएको शनिबारको कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीको विशिष्ट आतिथ्यता रहेको थियो । बकैया गाउँ कार्यपालिका सदस्यहरु सोम तिमल्सिना, लक्ष्मी माझी, सम्मानित स्रष्टाहरु, रचना वाचन गर्ने कवि÷गजलकार तथा अतिथि सर्जकहरुको आतिथ्य रहेको कार्यक्रमका अतिथिरुले शुभकामना मन्तव्य दिए । कार्यक्रममा स्थानीय साहित्यकार तथा साहित्यानुरागीहरुका साथै हेटौंडा, पालुङ लगायत अन्य जिल्लाबाट अतिथि सर्जकहरु उपस्थित थिए । 

महोत्सव अन्तर्गत पहिलो दिन शुक्रबार बाल साहित्य विशेष कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका विभिन्न १६ विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरुले आफ्नो रचना वाचन गरेका थिए । हेटौंडाको नवोदय शिशु सदन, जिएस निकेतन, ब्रह्मदिक एकेडेमी, मकवानपुर बाल विद्या सदन, प्रगति मावि, चन्द्रोदय मावि र अमर माविका विद्यार्थीहरुको रचना प्रस्तुत भएको थियो । 

त्यस्तै, बकैयाको महेन्द्र मावि, प्रभात मावि, बुद्ध मावि, जनक मावि, कालीदेवी मावि, माटोकोरी आवि, बाघभैरव आवि, कर्मप्राप्ति मावि, सेतीदेवी आवि, गीतावर आवि लगायतका विद्यार्थीहरुले रचना वाचन गरेका थिए । बालबालिकाहरुमा रहेको साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले पहिलो दिन बालबालिका विशेष रचना वाचन भएको अध्यक्ष दीपक गौतमले बताए । झरनाले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत जिल्लाका ६० भन्दा बढी विद्यालयहरुमा बाल साहित्य समिति गठन गरेको छ । उक्त समितिको समन्वयमा साहित्यमा सक्रिय बालबालिकाहरुको प्रस्तुती पहिलो दिन भएको थियो ।

साथै, महोत्सवको पहिलो दिन ‘पठन संस्कृतिको एवम् विद्यार्थीको सिर्जनशिलता विकासमा विद्यालयको भूमिका’ विषयक बहस पनि भएको थियो । बहसमा झरना साहित्यिक परिवारका पूर्व अध्यक्ष उद्धव सापकोटा, पत्रकार सुरेश श्रेष्ठ, प्रभात माविकी नेपाली विषयको शिक्षिका लक्ष्मी जिम्बा तथा विद्यार्थीहरु नवोदय शिशु सदनका एलिसा पराजुली र कालिदेवी माविका निराजन नेपालको सहभागिता रहेको थियो । उक्त बहसको सहजीकरण झरनाका उपाध्यक्ष चिरञ्जीवि लामिछानेले गरेका थिए ।

बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का वडाध्यक्ष शेरमान घलान, वडा नम्बर ४ का अध्यक्ष राजन दंगाल, साहित्यकारहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । बकैया–५ श्रीपुरस्थित प्रभात मावि परिसरमा महोत्सव सञ्चालन भएको हो ।
 

Advertisement

Advertisement