कम्पनीमार्फत विद्युत् आयातनिर्यात गर्न पाउने गरी भारतद्धारा कार्यविधि जारी

Advertisement

काठमाडौँ । विद्युत् व्यापार सम्झौता भएका मुलुकले आफ्नो देशको कम्पनीमार्फत विद्युत् आयातनिर्यात गर्न पाउने गरी भारतले अन्तरदेशीय विद्युत् आयातनिर्यात कार्यविधि जारी गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले जारी गरेको उक्त कार्यविधिसँगै नेपालमा उत्पादित विद्युत् भारत निर्यातका लागि कानुनी आधार तय भएको छ ।

कार्यविधिअनुसार भारतीय कम्पनीमार्फत भारतीय बजार र बंगलादेशसँग पनि विद्युत् व्यापारका लागि बाटो खुला भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको टिप्पणी छ । ‘हामी आफैं गएर बंगलादेशलाई विद्युत् बिक्री गर्न नपाए पनि भारतीय कम्पनीमार्फत बंगलादेशलाई अप्रत्यक्ष रूपमा विद्युत् बिक्रीका लागि बाटो खुला भएको छ,’ उनले भने, ‘भारतमा विद्युत् बिक्रीका लागि भारतीय कम्पनी एनभीभीएनसँग हामीले सैद्धान्तिक सहमति गरिसकेको विद्युत् व्यापारको प्रक्रिया चाँडै सुरु गर्न सक्छौं भन्ने लागेको छ ।’

Advertisement

भारतले तयार पारेको निर्देशिकामा भारतीय कम्पनीले भारतसँग ऊर्जा व्यापार सम्झौता भएका मुलुकबाट विद्युत् आयात र त्यस्ता देशमा निर्यात गर्न पाउने प्रावधान राखिएको छ । यस्तै भारतसँग ऊर्जा व्यापार सम्झौता भएका मुलुकमा उत्पादित विद्युत् भारतको इनर्जी एक्सचेन्ज बजारमा बिक्री पनि भारतीय कम्पनीमार्फत नै गर्नुपर्ने प्रावधान कार्यविधिमा छ । 

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement