निगमको ठूलो जहाज ‘हार्ड ल्याण्डिङ’को घटनापछि छानबिन गर्न समिति गठन

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो जहाज आरए २४० नम्बरको जहाज ‘हार्ड ल्याण्डिङ’ गरेको सम्वन्धमा छानबिन गर्न छानबिन समिति बनाएको छ । 

दोहाबाट काठमाडौं आउने क्रममा गत पुस २४ गते उक्त जहाज अवतरणका क्रममा हार्ड ल्याण्डिङ भएको कुरा नियमित फ्ल्याइट डाटा एनालाइसिस प्रोग्राममार्फत पत्ता लागेको भन्दै निगमले अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणालीबमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन युवराज भट्टराईको संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिषकुमार साह तथा डम्बर रावत समेतको छानविन समिति गत फागुन ११ गठन भई काम सुरु भइसकेको जनाएको छ । 

Advertisement

यात्रुहरुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्डहरुका सन्दर्भमा आफू प्रतिवद्ध रहेको भन्दै निगमले हार्ड ल्याण्डिङका सम्वन्धमा उडानमा संलग्न पाइलटहरुले भर्नुपर्ने म्याण्डेटरी अक्योरेन्स रिपोर्टमार्फत जानकारी गराउनुपर्नेमा नगराइएको पाइएपछि सम्वन्धित पाइलटहरुलाई तत्काल जानकारी माग गरी निजहरुलाई फागुन १२ देखि उडानमा बन्देज लगाईएको जानकारी दिएको छ ।

उक्त घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबस फ्रान्ससँग पत्राचार गरी राय माग गर्दा १०० फ्ल्याइट साइकल (ल्याण्डिङ) तथा दुई महिना सम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित चेकजाँच गर्नुपर्ने भन्ने जानकारी प्राप्त भएको र सोही अनुसार जहाज नियमित उडानमा रहेको जानकारी दिइएको छ ।

हवाई सुरक्षालाई दृष्टिगत गरी छानबिन समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुरुप थप कारवाही अगाडि बढाइने निगमको भनाई छ । 
 

Advertisement

Advertisement