सुपर त्रिशुली जलविद्युतका लागि सवा १२ अर्ब लगानी जुट्यो, यी सात बैंकले गर्दैछन् लगानी

Advertisement

काठमाडौं । सुपर त्रिशुली जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ७ वटा वाणिज्य बैंक यो आयोजनामा लगानी गर्न तयार भएका हुन् । 

गत बिहीबार ७ वटा बैंकहरुले ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनामा १२ अर्ब १८ करोड ४९ लाख रुपियाँ लगानी गर्ने सम्झौता गरेका छन् । आयोजनामा नेपाल इन्भेस्टमेन्टको अगुवाईमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले ऋण लगानी गर्दैछन् ।

Advertisement

आयोजना बनाउन १६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी लगानी रहने कम्पनीले जनाएको छ । 

आयोजनामा सराफ समूहका कार्यकारी निर्देशक बरुण सराफ र बैंकहरूका प्रतिनिधिहरुबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । सराफ समूह याक एन्ड यती होटलका मालिक हुन् भने ह्यात रिजेन्सी होटलका प्रमुख लगानीकर्ता हुन् । 

आयोजना गोरखा र चितवनको दोसाधस्थित त्रिशूली नदीमा छ । स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुबाटै ऋण लगानी जुटेको १०० मेगावाटभन्दा माथिका आयोजनामध्ये निजी क्षेत्रबाट प्रवर्धित सुपर त्रिशूली पनि एक ठूलो आयोजना हो । 

सराफ समूहको २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनामा पनि लगानी छ। आयोजनाबाट वार्षिक ४९ करोड ८० लाख युनिट बिजुली उत्पादन हुनेछ। आयोजनाबाट ७० प्रतिशत वर्षामा र ३० प्रतिशत हिउँदमा बिजुली उत्पादन हुनेछ। 

Advertisement

Advertisement