पूर्वाञ्चल क्यान्सर हस्पिटल उद्घाटन गर्दै प्रधानमन्त्रीले भने-‘अब बिएण्डसीलाई सम्बन्ध दिने तयारी छ’

Advertisement

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताएका छन् । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि बढेको बताए । उनले यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने जानकारी दिए । 

प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंले निजी लगानीमा सञ्चालनमा ल्याएको क्यान्सर अस्पताल विश्वस्तरकै आधुनिक भएको तथा यसमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको भनी प्रशंसा गर्दै  विश्वस्तरको अस्पतालबाट जनताले सस्तो र सुलभ मूल्यमा उपचार पाउने विश्वास व्यक्त गरे ।  

Advertisement

उनले सो अस्पतालले अन्य देशका भन्दा सस्तो र भरपर्दो उपचार दिने हुँदा विदेशीसमेत आउने अपेक्षा व्यक्त गरे । अर्को प्रसङ्गमा उनले प्रसाईँले मार्सी चामलाई ब्रान्ड बनाइदिएको तथा चाँडै मार्सी बियर बजारमा ल्याउने तयारी गरेको जानकारी आफूले पाएको बताए । प्रधानमन्त्री ओलीले राजनीतिक प्रसङ्गमा आफूलाई कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती दिए । उनले, “तत्काल कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, डेढ–दुई वर्षपछि चुनाव आउँछ, जनताले दुई तिहाइ बहुमत दिएर सिंहदरबार पठाउँछन् ।” उनले यही फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन बोलाइएको हुँदा सर्वोच्च अदालतको फैसलाको समेत परीक्षण हुने बताए । 

प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल  उद्घाटन
यसैबीच प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको  आज उद्घाटन गरे । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि  गरेका थिए । 

बिर्तामोड निवासी दुर्गा प्रसाईँका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो, जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो ।  एक वर्षका अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन्, जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।  

Advertisement

Advertisement