मेरो लामो योगदान, समन्वयिक भूमिका जितको आधार होः सुन्दरहरैंचा उबा संघ अध्यक्षका प्रत्यासी

Advertisement

विराटनगर । सुन्दरहरैंचा उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी टीकाप्रसाद कट्टेलले सहमतिबाट नेतृत्व चयन गर्ने कुरामा अर्को पक्षबाट भएको असहयोगप्रति असन्तुष्टि पोखेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अहिलेको प्रतिकुल परिस्थितिमा सहमतिका साथ सर्वसम्मत नेतृत्व चयन गर्नका लागि स्थानीय अगुवा व्यवसायी भोलेश्वर दुलालको संयोजकत्वमा सर्वपक्षीय सम्वन्य समिति बनाएर तीन महिना लामो प्रयास गरेर पनि सफलता नमिलेकोप्रति असन्तुष्टि जनाए । 

Advertisement

कट्टेलले भने, ‘मेरो कारणले सहमति भएन भन्ने सन्देश नजाओस भनेर मैले समितिले गरेको निर्णय स्वीकार गर्छु भनें । समन्वय समितिमा धेरै जना मेरो पक्षमा हुनुहुन्न थियो । त्यो भएकोले मलाई अध्यक्षको रुपमा प्रस्तुत गर्ने संभावना थिएन् । अर्को कुरा समन्वय समितिमा दलका प्रतिनिधिहरु पनि हुनुहुन्थ्यो । म कुनै दलनिकट नभएकाले पनि मलाई अध्यक्षको रुपमा अगाडि सार्ने संभावना थिएन् । भोलेश्वर दुलालले व्यक्तिगतरुपमा भेटेर ‘म तपाईंलाई समर्थन गर्न सक्दिन्, छोडिदिनु’ भन्नुभएको थियो । तर, उहाँहरु सहमतिबाट नेतृत्व छान्ने कुराबाट पछि हट्नुभयो ।’

आफू सुन्दरहरैंचामा लामो समयदेखि काम गर्दै आएको, यहाँका व्यवसायीसँग लामो समयदेखि रहेको हिमचिम, सुःखदुःखमा साथ दिएको र उद्योग बाणिज्य संघमा लामो समयदेखिको निरन्तरताका कारण यहाँका व्यवसायी साथीहरुले नेतृत्वका लागि आग्रह गरेको उनले बताए । कट्टेलले आफू सबै दलहरुसँग समदुरीमा रहेर काम गर्नसक्ने र सबै व्यवसायीको हकहितका लागि बोल्नसक्ने व्यक्ति भएको दाबी गरे । 

व्यवसायी कट्टेलले यसअघि संघको कार्यसमितिमा रहेर काम गर्ने क्रममा सुन्दरहरैंचा क्षेत्रका उद्योगी व्यवसायीका लागि धेरै काम गरेको उदाहरण दिँदै साप्ताहिक हाटबजार व्यवस्थापन गर्ने सामान्य उद्देश्यका लागि स्थापना भएको संगठन क्रमसः विस्तार हुँदै धेरैभन्दा धेरैलाई समेट्नसक्ने भएको, सबैका सहयोगमा जग्गा लिई भवन निर्माण गर्न सकिएको बताए । उक्त भवनमा सभा तथा बैठकहरु गर्नसकिने गरी दुईतले भवन निर्माण भएको उनले बताए । 

सशस्त्र द्धन्द्धकालमा स्थानीय उद्योगी व्यवसायी असुरक्षित भइरहेको बेला आफूहरुले उनीहरुको संरक्षण गर्नेदेखि तत्कालिन समयमा स्थानीय निकायमा जनप्रतिनिधि नभएको बेला जनप्रतिनिधिको रुपमा काम गरेको अनुभव सुनाउँदै कट्टेलले आफू सधैं समन्वय गर्ने, मिलाउने र कुनै दलसँग निकट नरहेकाले २०५४ सालदेखि संघको कार्यसमितिको सदस्यमा सीमित  रहनुपरेको पीडा सुनाए । 

दलीय व्यवस्थामा एउटा न एउटा दलको निकट नभई अघि बढ्न नसकिने अवस्था रहेको स्वीकार गर्दै उनले  यस पटक अध्यक्ष पदको प्रत्यासी भइरहँदा एउटा दलको समर्थन आइपरेको बताए । यद्यपि सबै दलको समर्थन आफूलाई रहेको कट्टेलले जिकिर गरे  । उनलाई नेकपाको समर्थन रहेको छ । काँग्रेस पक्षहरुले छुट्टै प्यानल खडा गरेका छन् । 

धेरैले आफूहरुले अग्रिम बधाई दिएकाले पनि आफू अध्यक्षमा बिजयी हुने सुनिश्चितता हो भन्दै कट्टेलले  आफूले लामो समयदेखि गरेको योगदान, समन्वयिक भूमिका जस्ता कुराहरुले पनि आफू पराजित हुने संभावना नरहेको उनले दाबी गरे । कट्टेलले मैले मात्रै होइन, मेरो प्यानलले नै सतप्रतिसत विजय हासिल गर्छ, त्यसमा कुनै शंकै छैन् ।’

कट्टेललाई विजयी गराउन सुन्दरहरैंचाका विभिन्न संघ सस्था व्यक्तिहरु लागिपरेको देखिन्छ । सुन्दरहरैंचा उद्योग बाणिज्य संघको साधारणसभा यही फागुन २२ गते हुँदैछ । 

Advertisement

Advertisement