राष्ट्र बैंकमा को को होलान अब डेपुटी गभर्नर ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरहरूद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले मंगलवारबाट अवकाश पाएसँगै नयाँ डेपुटी गभर्नरको को को होलान ? भन्ने विषयमा चर्चा सुरु भएको छ । 

पाँच बर्षका लागि डेपुटी गभर्नरमा नियुक्त हुनेलाई भावी गभर्नर बन्न एउटा खुडकिलो हुने भएकाले पनि यसतर्फ राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु लबिङमा लागेका छन् । 

Advertisement

डेपुटी गभर्नर पद रिक्त भएसँगै उक्त पदमा नियुक्तिका लागि गभर्नर महाप्रसाद अधिकारी नाम सिफारिस गर्ने तयारीमा रहेका छन् । उनले चार जनाको नाम अर्थमन्त्रालयमा पठाउने र अर्थमन्त्रीले मन्त्रिपरिषदमा ती नाम पेश गर्नेछन् । मन्त्रिपरिषदले दुई जनालाई नियुक्त गर्ने कानुनी व्यवस्था छ । 

हाल राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक रहेकामा दुई जना भाग्यमानी मात्रै डेपुटी गभर्नर नियुक्त हुनसक्नेछन् । राष्ट्र बैंकका विशिष्ट श्रेणीका अधिकृतमध्येबाट कार्यक्षमताको आधारमा नाम सिफारिस गर्नुपर्ने भए पनि राजनीतिक भागबण्डा, आर्थिक चलखेलका आधारमा नाम सिफारिस हुने विगतका प्रवृत्ति यस पटक पनि दोहोरिने आशंका गरिन्छ । 

पछिल्लो राजनीतिक परिस्थितिअनुसार प्रचण्ड–माधव समूहनिकट मानिएका व्यक्तिको नाम सिफारिस हुनसक्ने अवस्था कमै देखिन्छ । तर, वरिष्ठताका आधारमा भुवन कँडेल सबैभन्दा अगाडि छन् । धादिङका कँडेल पुष्पकमल दाहाल प्रचण्डसँग निकट सम्वन्ध भएका व्यक्ति हुन् । यदि उनले त्यो सम्वन्ध  तोड्न सके र प्रधानमन्त्री केपी ओलीलाई विश्वासमा लिनसके भने डेपुटी गभर्नर हुनसक्ने संभावना छ । 

बरु प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक नियुक्तिदेखि संसद विघटनसँग गोप्य सहकार्यको खुलासा भइहेको बेला एक जना देउवा निकट व्यक्तिले अवसर पाउने संभावना बढि देखिन्छ । 

डेपुटी गभर्नर नियुक्ति नभए पनि चार जनाको नाम सिफारिसमा काँग्रेसनिकट मानिएका गुणाकर भट्ट र ऋषिकेश भट्टमध्ये एकको नाम सिफारिस हुने संभावना रहेको स्रोतको भनाई छ । बैतडी गुणाकर देउवासँग नजिकको सम्वन्ध भएका व्यक्ति हुन भने ऋषिकेश काँग्रेसनिकट नविन्द्रराज जोशीका नातेदार हुन् । गभर्नर अधिकारीलाई राष्ट्र बैंकभित्र काँग्रेसनिकट कर्मचारीहरु खुशी पार्न पनि एक जना डेपुटी काँग्रेस निकटको भइदिए सहज हुने महशुस गर्दै आएका छन् । राष्ट्र बैंकमा प्रचण्ड–माधव समूहनिकट कर्मचारीको खासै प्रभाव देखिन्न । 

डेपुटी गभर्नरमा निकै चर्चामा रहेको अर्को नाम हो निलम ढुँगाना तिम्सिना । यस दौडमा उनी एक मात्रै महिला उम्मेदवार, पूर्वएमालेसँग निकट र पूर्व घर भएकाले उनको पनि संभावना प्रवल रहेको छ । डेपुटी गभर्नरमा नियुक्ति नै नभए पनि चार जनामा निलमको नाम रहने धेरै संभावना रहेको बताइन्छ । 

त्यस्तै, डेपुटी गभर्नरका प्रवल प्रत्यासी देवकुमार ढकाल पनि हुन् । उनी पनि नेकपा ओलीनिकटका व्यक्ति हुन् । राष्ट्र बैंकभित्र निकै प्रभाव राख्दै आएका ढकाल राजनीतिक सम्वन्ध बनाउन पनि सिपालु मानिन्छन् । 

डेपुटी गभर्नरमा निकै चर्चामा रहेको अर्को नाम हो प्रकाश श्रेष्ठ । राष्ट्र बैंकको कार्यकारी निर्देशक रहे पनि अहिले अर्थमन्त्रीको सल्लाहकार रहेका श्रेष्ठलाई डेपुटी गभर्नर बनाउन स्वयम अर्थमन्त्री बिष्णु पौडेलले पनि  जोडबल गर्ने देखिन्छ । उनी ओली समूहका निकै विश्वासपात्र व्यक्तिको रुपमा पनि चिनिन्छन् । 

बमबहादुर मिश्र प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका भए पनि राजनीतिरुपमा त्यति खुलेका व्यक्ति होइनन् । नरेश शाक्य कुनै दलसँग निकट नमानिए पनि प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यसँग नाता जोडिने व्यक्तिका रुपमा हेरिन्छन् । यदि त्यो नाताको प्रभाव पारेको खण्डमा नरेशले पनि सुचीमा आफ्नो नाम नचढाउलान भन्न नसकिने स्रोतको भनाई छ । 

डेपुटी गभर्नर हुन योग्यता पुगेका कार्यकारी निर्देशकहरु बिश्रुत थापा, प्रदीप पौड्याल, रामबहादुर मानन्धर, रामु पौडेल, सुमन अधिकारी, पिताम्बर भण्डारी, मुकुन्द क्षेत्री, नेफिल मास्केको नाम खासै चर्चामा छैन् । 
 

Advertisement

Advertisement