भारतले बनाइरहेको अरुण-३ डेढ बर्षअघि नै निर्माण सम्पन्न हुने

Advertisement

काठमाडौं । सरकारका सचिव, सहसचिवलगायतको टोलीले बुधबार अरुण–३ जलविद्युत आयोजनाको निरीक्षण गरेको छ । भारतले निर्माण गरिरहेको नौसय मेगावाट क्षमताको यस आयोजनाको निरीक्षण गर्न सरकारी टोली संखुवासभा पुगेको हो । 

टोलीमा गृहसचिव महेश्वर न्यौपाने, रक्षासचिव रेश्मिराज पाण्डे, परराष्ट्रसचिव भरत पौड्याल, उर्जासचिव दिनेश घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बोर्डका उपसचिव रमेश अधिकारी, बोर्ड कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सागर गौतमलगायत थिए । 

Advertisement

यसअघि उक्त आयोजनाको निरीक्षण गर्न प्रधानमन्त्री केपी ओली आफै पुगेकोमा अहिले सचिवहरु पुग्नु अर्थपूर्ण देखिन्छ । आजको निरीक्षणका क्रममा टोलीले परियोजना कार्यान्वयनका क्रममा देखिएका समस्याबारे स्थानीयसँग छलफल गरेको बोर्डले जनाएको छ ।

संखुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माणस्थल तथा चिनिला गाउँपालिकास्थित दिदिङ विद्युतगृह निर्माणकार्यको उनीहरुले अवलोकन गरेका थिए ।  हालसम्म उक्त परियोजनाको ४० प्रतिशत काम सकिएको र करिव डेढ बर्षअघि नै परियोजना निर्माण सम्पन्न हुने परियोजना निर्माणकर्ता भारतीय कम्पनी सतलजले जनाएको छ । नेपाल सरकारले बनाएका तथा निजी क्षेत्रबाट बनाइएका अधिकांश जलविद्युत आयोजनाहरु समयमा सम्पन्न नभई पटक पटक समय थप्नुपर्ने बाध्यता रहँदै आएकोमा भारतले बनाइरहेको ठूलो परियोजना डेढ बर्षअघि नै सम्पन्न हुन लागेको हो ।  

Advertisement

Advertisement