आफ्नो छोरोले सम्पत्ति हडपेर आमाबाबुलाई सडकमा पुर्याएपछि

Advertisement

काठमाडौं । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गराईदिन माग गरेका छन् । बुधबार पत्रकार सम्मलेन गर्दै पर्वत कुश्मा वडा नम्बर ५ स्थायी घर भएका बुवा हरि श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर कुटपिट गर्दै आएको जानकारी दिए । 

पत्रकार सम्मेलनमा बोल्दै हरिबहादुरले सानोभर्याङमा रहेको ७० हजार रुपियाँ महिनाको भाडा आउने तीन तलाको घर छोराले ओगटेको बताए । उनले छोरीले इजरायल बसेर कमाएर पठाएको एक करोड ३८ लाख रुपियाँले घर र घडेरी किनेको तर छोराले त्यो ओगटेको बताए । ‘छोरीको नागरिकता हामीसँग नभएकोले आमाको नाममा घर पास गरिएको हो’ उनले भने, ‘तर छोराले त्यही सम्पत्तिलाई दाबी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मुद्दा दिएको छ ।’ 

Advertisement

श्रेष्ठले छोरा प्रेमराजा श्रेष्ठलाई २०५८ सालमा चीनमा एमबिबिएस अध्ययन गर्न पठाएको, ०७२ सालसम्ममा एमबिबिएस, पिएचडी सकेर नेपाल फर्किएकोे र १४ वर्षसम्म एमबिबिएसदेखि पिएचडीसम्म आफ्नो जायजेथाले पढाएको बताए । उनले छोराले आफूलाई मुद्दामा बाबु नाता पर्ने लेखेकोमा दुखेसो गरे । उनले भने, ‘अहिले छोराले मेरोआमा बुबा होइन भन्छ ।’ 

हरिबहादुरले छोराले आफूलाई डाक्टर भन्दै अंकलोजीमा पिएचडी गरेको र सिभिल अस्पतालमा काम गरेको सुनेको उल्लेख गरे । तर आफूहरुबीच बोलचाल नभएको पनि उनले सुनाए । हरिबहादुरले तीन तलाको घरमा छोराले एकलौटी तरिकाले ओगटेको हुनाले आफूहरु आफन्तकोमा शरणार्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी शरणार्थी भएर हिड्न परेको छ’–उनले भने । 

आमा कमलादेवीले रातदिन दुःख गरेर छोरालाई हुर्काएको, पढाएको छोराले मुख छाड्दा मन दुखेको बताइन् । ‘छोराले मलाई आज आमा होइन भन्दा बोली रोकिन्छ,’–उनले भनिन् ।  छोराको लागि गरेको मैले दुःख प्रमाण देखाउन परेको भन्दै आराम गर्ने बेलामा मुद्दा मामिलामा हिँड्न परेको गुनासो गरिन् ।  

कमलादेवीले छोरा–छोरीलाई हुर्काएको पनि प्रमाण हुन्छ र ? भन्दै प्रतिप्रश्न गरिन् । यस्तो छोरा कसैको कोखमा जन्म नलिउन भन्दै उनले भनिन्– ‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अन्धो हुनुपर्छ’ उनले भनिन्, ‘भगवानले यस्तालाई जन्म दिनभन्दा गर्भमै तुहियोस् र कसैलाई यस्तो छोरा नदिउन् ।’ 

Advertisement

Advertisement