प्रधानमन्त्रीले चिडियाखानाको गैंडालाई एक महिना खाना खुवाउने

Advertisement

विमलबहादुर विष्ट 
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैंडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च निजी खर्चबाट व्यहोर्ने घोषणा गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्ववन्यजन्तु दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले वन्यजन्तुप्रतिको प्रेमभाव दर्शाएका छन् ।     
     
प्रधानमन्त्री ओलीले चिडियाखानामा राखिएका जनावरका लागि सरकारले वर्षभरीको खाना खर्च व्यहोर्दै आएको र आफूले एक महिनाका लागि गैँडाको खाना खर्च व्यहोर्ने घोषणा गरी संरक्षणकर्तालाई उत्साहित तुल्याए । उनले भने, “प्रधानमन्त्रीका हैसियतले आफूले सरकारबाट पाउने रकम वर्षभरीको सबै कोरोना संक्रमण कोषमा दिएकाले श्रीमती राधिका शाक्यको निवृत्तिभरणबाट आउने रकमबाट गैँडाका लागि एक महीनाको खाना खर्च दिनेछौँ ।” 

प्रधानमन्त्री ओलीले सदर चिडियाखाना सानो भएकाले आगामी दिनमा वन्यजन्तुको उद्धार तथा वन्यजन्तुको परस्थानीय संरक्षण, वैज्ञानिक अध्ययन अनुसन्धान तथा पर्या–पर्यटन अभिवृद्धिका लागि भक्तपुरको सूर्यविनायकमा बृहत् खालको चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भई निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए । वन तथा वातावरण मन्त्रालयले सोका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दैछ ।     
     
प्रधानमन्त्री ओलीले जावलाखेलको चिडियाखाना अवलोकन गर्नका लागि आउने ज्येष्ठ नागरिक, गर्भवती महिला अपाङ्गता भएका तथा बालबालिकालाई हिँडडुल गरी वन्यजन्तु अवलोकन गर्न समस्या हुने भएकाले यसका लागि सरकारका तर्फबाट चार वटा विद्युतीय बहान (रिक्सा) उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयलाई आवश्यक समन्वय गरी प्रक्रिया अगाडि बढाउन आग्रह तथा निर्देशन दिए ।     
     
प्रधानमन्त्री ओलीले मानव र वन्यजन्तुको परापूर्वकालदेखि घनिष्ट सम्बन्ध रहेकाले मानिस र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्दै आगाडि बढ्नुपर्ने बताउँदै भने, “मानिसको जत्तिकै यस धर्तीमा बाँच्न पाउने अधिकार भएकाले उनीहरुको अधिकारलाई हामीले उनीहरुको बाँच्न पाउने सुनिश्चित गर्नुपर्ने हुन्छ ।”     
     
प्रधानमन्त्री ओलीले विगतमा सदर चिडियाखाना मनोरञ्जनका उद्देश्यले तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले स्थापना गरेको भए तापनि हाल यसको उद्देश्य फराकिलो हुँदै गएको र चिडियाखाना मनोरञ्जन मात्रै नभई अध्ययन अनुसन्धनका लागिसमेत महत्वपूर्ण आधार रहेको बताए ।     
     
प्रधानमन्त्री ओलीले सदर चिडियाखानाको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो । अवलोकनका क्रममा वन्यजन्तुलाई ससाना कोठामा घेराबार गरी राखिएकामा उनीहरुको प्राकृतिक आहारविहार, वितरणजस्ता अधिकार हनन् भएको आफूलाई महसुस भएको र उनीहरुलाई केही खुला छोड्नुपर्ने उनले जानकारी दिए ।     
     
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ का कारण चिडियाखानाको आम्दानी घट्न गई यसकोे व्यवस्थापनमा परेको समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग आवश्यक बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको बताए । उनले भने, “महामारीका कारण चिडियाखानाको आम्दानी घटेर केही समस्या भएको छ, त्यसको समाधानका लागि हाम्रो मन्त्रालयबाट बजेटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ, सम्भवतः चाडै बजेट आउने छ ।”     
     
मन्त्री आलेले जैविक विविधता संरक्षणमा राष्ट्रिय प्रकृति संरक्षण कोषले महत्वपूर्ण योगदान गरेको जनाउँदै वर्तमान सदर चिडियाखानाको व्यवस्थापनमा परेको समस्या समाधानार्थ आजैदेखि थालनी गरिएको जानकारीसमेत दिए । कोषका सदस्यसचिव शरद अधिकारीले प्रकृति तथा वन्यजन्तु संरक्षणमा भएका प्रयास र चुनौतीबारे अवगत गराएका थिए । रासस

Advertisement

Advertisement

Advertisement