ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

Advertisement

काठमाडौँ । लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०र७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । 

सो सडक निर्माणका लागि पटकपटक अवधि थप गरिए पनि निर्माण व्यवसायीले ढिलाइ गरेकाले बालाजु–त्रिशूली÷छहरे–विदुर सडक योजनाले ठेक्का तोड्ने निर्णय गरेको थियो । गत असार १६ मा ठेक्का तोड्ने निर्णय भएको याजनाका प्रमुख जगत प्रजापतिले बताए । 

Advertisement

निर्माण व्यवसायीले सो निर्णय भएको भोलिपल्ट नै अदालतमा मुद्दा हालेकाले अदालतले नयाँ ठेक्का अघि नबढाउन आदेश दिएको थियो । निर्माण शुरु भएको वर्षौं बित्दासमेत निर्माण व्यवसायीले निर्माणमा ढिलाइ गरेकाले ठेक्का तोड्नुपरेको उनले बताए । उनले भने, “सात पटकसम्म अवधि थप्दा पनि काम सकिएको छैन ।”

अदालतको आदेशमा अन्तिम निर्णय नभएसम्म निर्माणको काम नगर्ने र नगराउने भन्ने उल्लेख भएकाले तत्काल अर्को ठेक्काबाट अघि बढ्ने अवस्था नभएको प्रमुख प्रजापतिले बताए । योजनाले पहल गरेपछि अहिले बल्ल मुद्दा अघि बढिरहेको छ । अदालतले ठेक्का तोड्ने पक्षमा फैसला गरेमा सो सडकमा थप काम गराउँदा व्यवसायीबाट असुल गराउने उनले जानकारी दिए । उनले भने, “अदालतबाट निर्णय भएपछि नयाँ ठेक्कामा जानका लागि अहिले सबैको काम भइरहेको छ ।” 

यो सडकको लम्बाइ ३४ किमी रहेको छ । अहिले बालाजुबाट ककनीसम्म सडकको नालीको काम भइरहेको छ । अहिले चिसोले गर्दा कालोपत्र रोकिए पनि केही समयपछि कालोपत्र गर्न सकिने योजनाले जनाएको छ । 

Advertisement

Advertisement