सुन आयातको कोटा नबढाएकोमा व्यवसायी सरकारदेखि रुष्ट

Advertisement

काठमाडौं । नेपाली बजारमा फागुनदेखि नै सुनचाँदीको मूल्यमा उत्तार–चढाव जारी छ । फागुनयता मात्रै सुनको मूल्य प्रतितोला चार हजार तीन सय रुपियाँ ओरालो लागेको छ ।
 
पछिल्लो समय विश्व बजारमा नै सुनको मूल्य घटबढ हुँदा त्यसको प्रभाव नेपाली बजारमा देखिएको हो । सुन–चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य भन्छन्, ‘विश्वमा नै अहिले सुनचाँदीको मूल्यमा उत्तार–चढाव छ । त्यसको असर नेपालमा पनि पर्नु स्वाभिावक हो ।’

गत साउन भदौमा सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रुपियाँसम्म पुगेको थियो । त्यो समयका सुनको मूल्य बढ्नुको कारण कोभिड–१९ को कारण मानिसहरुले सुरक्षित लगानी खोज्नु मुख्य कारण थियो । अमेरिका र चीनको व्यापार युद्धले असर र सरकारले बढाएको भन्सार शुल्कको असर पनि मूल्य वृद्धिको कारण थियो । 

Advertisement

त्यसपछि क्रमसः घट्दै गएको सुनको भाउ तोलाको ९० हजार रुपियाँ पुगेकोमा फागुनदेखि केही उतारचढाव देखिएको छ । फागुन २ गते ९० हजार ८०० रुपियाँ रहेको सुनको मूल्य फागुन २० गते आइपुग्दा घटेर ८६ पाँच सय रुपियाँमा झरेको हो । 

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १७ सय १७ डलर र चाँदीको मूल्य प्रतिऔंस २६ दशमलव १७ डलर रहेको छ । पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यप्रति औंस ३ दशमलब ०९ प्रतिशतले र चाँदीको मूल्य प्रतिऔंस ६ दशमलब ४८ प्रतिशतले घटेको छ । 

बजारमा माग उच्च, तर कोटा कम 
अहिले बजारमा गरगहना तयार गर्नको लागि कच्चा सुनको अभाव भइरहेको सुनचाँदी व्यवसायीहरुको गुनासो छ । माघ फागुन बिहेको सिजन पनि हो । यो समयमा बजारमा दैनिक २५ केजी सुनको माग हुने गरेको अध्यक्ष शाक्य बताउँछन् । 

कोरोना महामारीको कारण लकडाउन सुरु भएदेखि घटाइएको सुनको आयात कोटा सरकारले अहिलेसम्म पनि नबढाएको कारण बजारमा सुनको अभाव भएको उनी बताउँछन् । शाक्य भन्छन्, ‘अहिले बजारमा दैनिक २० देखि २५ किलोसम्मको सुनको माग छ । तर आयात भने १० किलो मात्र भइरहेको छ । यसले गर्दा सिजनको समयमा पनि हामीले ग्राहकलाई मागेजति सुन दिन सकेका छैनौं ।’

सुनको कोटा बढाउन सुनचाँदी व्यवसायी दुई पटक नेपाल राष्ट्र बैंकमा र एक पटक अर्थमन्त्रालय पुगेको सुनाउँदै कोटा बढाउने कुरामा अर्थमन्त्रालयले सकारात्मक कुरा गरे पनि काम हुन नसकेको गुनासो गरे । शाक्य भन्छन्, ‘सरकारी निकाय सकारात्मक छ । चाँडै काम हुन्छ, भनेको छ । कामकारबाही भने भएको छैन । चाँडो गर्दिए हामीलाई राहत हुन्थ्यो ।’

Advertisement

Advertisement