अहिलेको संघीय गणतन्त्र र अहिलेको संविधान मान्ने शर्तमा हामी आएका होइनौंः प्रकाण्ड

Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूहरु अहिलेको संघीय गणतन्त्र र संविधान मान्ने शर्तमा शान्तिपूर्ण राजनीतिमा नआएको बताएका छन् । 

प्राइम टिभीको कार्यक्रममा शुक्रबार उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि आफूहरु आएको भन्दै दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरिने बताए । प्रकाण्डले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनताले साथ दिने पनि बताए । 

Advertisement

उनले अहिलेको राजनीतिक प्रणाली ठिक भएन भन्ने जनताको जनमत पनि रहेको सुनाउँदै त्यही भएर पनि वैज्ञानिक समाजवाद जरुरी रहेको बताए । अहिलेका संसदवादी नेताहरुले अहिलेको प्रणाली पूरानो संसदीय व्यवस्था होइन भनेर दाबी गरे पनि यो पूरानोभन्दा रद्दी हो भन्दै उनले राजाको पालामा अहिलेका जस्ता काण्डहरु नघटेको सुनाए । 

राजाको पालामा अहिले जसरी युवाहरु विदेशिनुपर्ने बाध्यता थिएन भन्दै उनले महिला, दलितमाथि उत्पिडन बढ्ने, रातारात मानिसहरु करोडपति हुने, गरिव र श्रमजीवी वर्ग झन गरिव हुने अवस्था रहेको बताए । प्रकाण्डले भने, ‘उहाँहरुका लागि लोकतन्त्र भयो, जनताका लागि त केही छैन् । 

साथै, उनले अबको नेतृत्व नेत्रविक्रम चन्द विप्लवले गर्ने बताए । देशको नेतृत्व गर्न इमान्दार कम्युनिष्ट र प्रगतिशील लोकतन्त्रवादीको जरुरी रहेको बताए । २०६२–६३ पछि पुष्पकमल दाहाल प्रचण्डलगायतले जनतालाई धोका दिएको प्रकाण्डको भनाई छ । 

Advertisement

Advertisement